
भारतको मध्यप्रदेशमा एउटा सानो जहाज दुर्घटनामा परेको छ।
शनिबार दिउँसो मध्यप्रदेशको सागर जिल्लास्थित धानामा रहेको चिम्स एभिएसन एकेडेमीमा जहाज दुर्घटना भएको हो। दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
यसअघि गत शुक्रबार मात्रै महाराष्ट्रमा जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो। शुक्रबार दुई सिटको प्रशिक्षण लिने जहाज जलगाउँमा दुर्घटना भएको थियो। दुर्घटनामा परी फ्लाइट इन्स्ट्रक्टर क्याप्टेनको मृत्यु भएको थियो भने विद्यार्थी घाइते भएका थिए। जहाजमा २८ वर्षीय क्याप्टेन नुरुल अमेन र २२ वर्षीया प्रशिक्षार्थी अंशिका गुर्जार थिए।
दुर्घटनामा परेको जहाज धुले जिल्लामा रहेको एकेडेमी अफ एभिएसन श्रीपुरको हो।
क्याप्टेन अमेनले शुक्रबार करिब ३ बजे उडाएको सो जहाज पौने ४ बने वार्डी गाउँमा दुर्घटना भएको एकेडेमीका निर्देशक एयर कमोडोर हितेश पाटेलले बताए।
क्याप्टेन नुरुल अमेनको घटनास्थलमै मृत्यु भएको थियो भने अंशिका घाइते भएकी थिइन्। उनको उपचारको लागि मुम्बईस्थित नानाभाती अस्पताल लगिएको थियो।
एयर कमान्डर पाटेलका अनुसार प्रशिक्षणमा रहेको जहाज साढे दुई घन्टापछि फर्किनुपर्थ्यो। श्रीपुर र शेगाउँबीचको करिब दुई सय नौटिकल माइल्सको दुरी पार गरेर जहाज फर्किने तालिका थियो।
दुर्घटनाको कारण अहिलेसम्म खुलिसकेको छैन। केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले दुर्घटनाको अनुसन्धान भइरहेको बताएका छन्। उनले ट्विट गर्दै अनुसन्धानको टोलीलाई घटनास्थल पुर्याइएको बताएका थिए।
copied:setopati

