पोखरा इञ्जिनिरिङ क्याम्पसमा कोरोनाले क्याम्पस बन्द

  • ९ चैत्र २०७७, सोमबार १९:५७ मा प्रकाशित
  • कोरोना भाइरसका दोस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सभा, जुलुस, गोष्ठी, र्‍याली, भेला लगायतका कार्यक्रम नगर्न अनुरोध गरेको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले विज्ञप्ति जारी गरेर उक्त अनुरोध गर्दैगर्दा पोखराको पश्चिमाञ्चल क्याम्पस भने कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बन्न पुगेको छ।

    कोरोना भाइरसको दोस्रो लहर चलिरहेको भारतको सीमावर्ती पुगेर फर्केका विद्यार्थीबाट क्याम्पसमा कोरोना फैलिएको आशंका गरिएको छ।

    इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखराका विद्यार्थी दुई साताअघि जनकपुर, विराटनगर लगायतका स्थानमा शौक्षिक भ्रमणमा गए। क्याम्पसमा जियोम्याटिक्स पढिरहेका चौथो वर्षका ४२ जना विद्यार्थी भारतको सीमानासम्म पुगेका थिए। 

    त्यही भ्रमणमा गएर फर्किएका एक जना विद्याथीलाई ज्वरो आयो। रुघा, खोकीले सतायो। क्याम्पस बाहिर नै बस्ने ती विद्यार्थीले आफैं कोरोनाको आशंकामा पिसिआर परीक्षण गरे। नतिजा पोजेटिभ आयो। 

    कोरोना पोजेटिभ देखिएका ती विद्यार्थीको कन्ट्याक्ट ट्रेसिङ गर्दा १९ जना विद्यार्थीको स्वाब परीक्षण गरियो। कन्ट्याक्ट ट्रेसिङमा परेकामध्ये थप ७ जना संक्रमित भेटिए। यी विद्यार्थी भने क्याम्पसको होस्टलमा बस्ने थिए। फेरि ती ७ जना कन्ट्याक्ट ट्रेसिङ गरेर ११९ जनाको स्वाब परीक्षण गरियो। नतिजा थप ३२ जना विद्यार्थीको पिसिआर रिपोर्ट पोजेटिभ आयो। 

    इञ्जिनियरिङ पढिरहेका पश्चिमाञ्चल क्याम्पसका विद्यार्थीमा कोरोना संक्रमण बढेको देखिएपछि थप ६४० जनाको स्वाब संकलन गरियो। शनिबार संकलन गरिएको स्वाबको पिसिआर परीक्षण रिपोर्ट सोमबार आयो। ६४० जनाको स्वाब लिएर कोरोना जाँच गर्दा थप ३५ जनामा पोजेटिभ रिपोर्ट आएको क्याम्पसका प्रशासन प्रमुख खेमबहादुर पुलामीले बताए। 

    सुरूआतमा एक जनामा देखिएको कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा अहिलेसम्म ७६ जनामा कोरोना भाइरस पुष्टि भएको छ। जसमध्ये १ जना क्याम्पसमा अध्यापन गराउने शिक्षक समेत छन्। झण्डै एक सातासम्म जिउ दुखेपछि क्याम्पसका ती शिक्षकले कोरोना परीक्षण गराएको क्याम्पसले जनाएको छ। 

    कोरोना भाइरसको लक्षण देखिएका बिरामीको कन्ट्याक्ट ट्रेसिङमा यतिका संख्यामा संक्रमित भेटिएको प्रशासन प्रमुख पुलामीले बताए।

    क्याम्पसमा शिक्षक, कर्मचारी र विद्यार्थी गरी अहिले झण्डै २ हजार जना छन्। जसमा ४ सय जना विद्यार्थी होस्टलमा बस्छन्। 

    कोरोना भाइरसको संक्रमण पनि होस्टलमा बस्ने विद्यार्थीमा धेरै देखिएको छ। यसका अलवा विद्यार्थीले दिनहुँ जसो आयोजना गर्ने बिदाइ कार्यक्रमले पनि कोरोना भाइरस फैलाउन मद्दत गरेको आशंका गरिएको छ। 

    फागुन दोस्रो सातादेखि विद्यार्थी संघ/संगठनले दिनहुँ जसो बिदाइ कार्यक्रम गरिरहेका थिए। स्नातक चौथो वर्षका विद्यार्थीलाई विभिन्न पार्टी निकट विद्यार्थी संगठन र क्याम्पसमा स्वतन्त्र रूपमा संगठित भएका विद्यार्थीहरूले पोखराका विभिन्न पार्टी प्यालेसदेखि क्याम्पस हाताभित्रै यस्ता बिदाइ कार्यक्रम भएका थिए। 

    विद्यार्थीका बिदाइ कार्यक्रम रोक्नुपर्ने बेला क्याम्पस प्रमुखदेखि सहायक प्रमुखहरू नै त्यस्ता कार्यक्रममा गएर भाषण गर्ने गरेकाले पनि कोरोना बढेको एक प्राध्यापकले बताए।

    क्याम्पसको पठन-पाठनकै क्रममा अनिवार्य गर्नुपर्ने शौक्षिक भ्रमण समेत रोकेर राखेको बेला विद्यार्थीलाई भारतको नाकासम्म भ्रमण गर्न दिनु र दिनहुँजसो हुने बिदाइ कार्यक्रममा भेला गर्न दिनुकै नतिजा अहिले कोरोनाको ‘हटस्पट’ बनेको ती प्राध्यापक बताउँछन्। 

    कोरोना भाइरसको संक्रमण देखिएका विद्यार्थीलाई कसरी व्यवस्थापन गर्ने भन्ने नै अहिले समस्या रहेको प्रशासन प्रमुख पुलामीले बताए।

    अहिलेसम्म क्याम्पसमै क्वारेन्टिन बनाएर संक्रमित विद्यार्थीलाई राखिएको छ भने नतिजा नेगेटिभ आएका विद्यार्थीलाई घर पठाएको उनले जानकारी दिए। 

    विद्यार्थीमा कोरोना भाइरसको महामारी देखिएपछि क्याम्पसका नियमित कार्यक्रम पनि प्रभावित भएका छन्।

    क्याम्पस प्रमुख रामप्रसाद पौडेलले आकस्मिक रूपमा क्याम्पसमा बिदा दिएका छन्। कोरोना भाइरस विद्यार्थीमा फैलिएकै कारण चैत ४ गतेदेखि आकस्मिक रूपमा क्याम्पस बन्द गरेको उनले जनाएका छन्। 

    यस्तै, क्याम्पसमा गत वर्षदेखि नै स्थगित भएको परीक्षा सञ्चालन तयारीको अन्तिम अवस्थामा आएर फेरि स्थगित भएका छन्। चैत ३ गतेदेखि स्नातक तहका सबै वर्षका परीक्षा सञ्चलन गर्ने परीक्षा नियन्त्रण महाशाखाको तयारी थियो।

    विद्यार्थीमा देखिएको कोरोना भाइरसले महामारीको रूप लिन सक्ने भएकाले सबै परीक्षा स्थगित गरेको परीक्षा नियन्त्रण महाशाखाका डिन प्रा.डा. ज्ञानबहादुर थापाले जनाएका छन् । 

    Leave a Reply