आफैं कारोबारी बनेर प्रहरीले पक्रियो युरेनियम कारोबारीलाई

  • २८ फाल्गुन २०७७, शुक्रबार १८:२२ मा प्रकाशित
  • प्रहरीले दुई किलो ५ सय ग्राम युरेनियमसहित चार जनालाई पक्राउ गरेको छ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका- ६ बौद्ध टुसालबाट युरेनियमसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए।

    पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी-५ बस्ने ४० वर्षीय नारायणसिंह तामाङ, बौद्ध बस्ने ४० वर्षीय जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश चौहान र सिन्धुली बस्ने २० वर्षीय मनोज नेउपाने छन्।

    ‘बौद्धमा उनीहरूले पुरानो घरमा राखेका रहेछन्। विशेष सूचनाको आधारमा गएर हेर्दा युरेनियम भएपछि हामीले नियन्त्रणमा लिएका हौं,’एसपी राठौरले भने, ‘दुई प्रकारको हुन्छ यो काँचो भन्ने कुरा छ।’

    शुक्रबार पत्रकार सम्मलेनमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालले सो युरेनियम परीक्षण गराएको बताएका थिए।

    अदालतले उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।  

    ‘रअ एक्स २३८ लेखिएको हो यो। यसलाई प्रशोधन गरिएकोमा २३५ हुन्छ। शुद्ध युरेनियमको बजार मूल्य १० ग्रामको २० लाख ९ हजार अमेरिकी डलर हुन्छ। नेपाली मूल्य करिब १८ करोड पर्छ,’ एसपी राठौरले भने,’ अहिले हामीले बरामद गरेको काँचो पदार्थ हो। त्यसको मूल्य पनि महँगो हुन्छ।’

    प्रहरीले सुरूमा आफैं कारोबारी बनेर उनीहरूसँग डेढ अर्बमा किन्ने डिल गरेका थिए। डिल गरी उनीहरूबाट प्रहरीले नमूना लिई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नास्ट)मा पठाएको थियो।

    सोही प्रमाण अनुसार युरेनियम पाइएपछि उनीहरूलाई पक्राउ गरेको एआइजी पालले बताए।  

    नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलका अनुसार नेपाल प्रहरीले शंकास्पद वस्तु परीक्षणका लागि ल्याएको बताए।

    ‘रेडियसन डोज असामान्य देखिएको वस्तु आएको छ। त्यस्तो सामान्य चट्टानमा देखिहाल्दैन। अनुसन्धान गर्दा रेडियसन हेर्दा शंकास्पद लेभलमा देखिएको छ,’ढुंगेलले सेतोपाटीसँग भने,’ठ्याक्कै युरेनियम नै हो भन्दा पनि गम्भीर प्रकृतिको भन्ने पाइयो। प्रारम्भिक अनुसन्धानकै चरणमा छ।’

    Leave a Reply