
काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखेर बुधवार राष्ट्रपति भण्डारीले क्षमापुजाको समापन गरेकै दिन सर्वोच्च अदालतले अर्को निर्णय गरेको छ । पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा सर्वोच्चले अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको थियो । मंगलवार मात्र विधिवत पुजा गरेर जलहरी राख्ने क्रम सकिएको छ । तर सर्वोच्चले बुधवार आदेश दिँदै जलहरी नराख्न भनेको छ । प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।
सरकारसंग अदालतले सुनको जलहरी राख्नुको लिखित कारण पनि माग गरेको छ । यस विषयमा अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकार दुबै पक्षलाई फागुन १७ गते छलफलमा बोलाएको छ ।
बुधवार विहान सर्वोच्चको आदेश आउनु अघि ११. ४५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट पशुपतिनाथ मन्दिरमा जलहरी राखिसकिएको छ । मंगलवार शुभसाइतमा जलहरी राखिएको भएपनि बुधवार राष्ट्रपतिद्धारा क्षमा पुजाको समापन गरिएको हो ।
राष्ट्रपति भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ । पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकिएको हो । पशुपतिमा १०८ किलोको सुनको जलहरी राखिएको हो । यो कामका लागि ८० करोड रुपैँया खर्च भएको छ ।

