
काठमाडौं । प्रहरी हिरासतवाट निस्किएपछि नेकपा प्रचण्ड(नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले प्रवृत्तिका विरुद्ध बोल्न नछोड्ने बताएकी छन् । प्रहरीले रिहा गरेलगत्तै प्रहरी परिसरमै पत्रकारहरुसंग कुरा गर्दै उनले राष्ट्रपतिको संस्थामाथि भन्दा पनि व्यक्तिको आचरणबारे बोलेकाले कुनै पश्चाताप नभएको प्रतिक्रिया दिएकी छन् ।
उनले भनिन्, व्यक्तिको आचरणविरुद्ध बोलेको हो । बोलिहरन्छु । मलाई कुनै पश्चाताप छैन । झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् ।
बिहीबार दिउँसो पक्राउ परेकी उनले साँझ श्रीमन पशुपति पुरीको जिम्मा जमानीमा रिहा भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाउने पनि उद्घोष गरिन्न् ।
‘‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाइन्छ’, रिहा भएपछि उनले संक्षिप्त प्रतिक्रियाका क्रममा भनिन् ।
आन्दोलनरत नेकपाको प्रचण्ड(नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनलाई प्रहरीले विहिवार विना सर्त रिहा गरेको हो । राष्ट्रपतिलाई लक्षित गरेर उनले दिएको अभिब्यक्तिका कारण उनलाई पक्राउ गरेको थियो ।
बिहान उनलाई शंखमूलस्थित निवासबाट राज्यविरुद्धको कसुरअन्तर्गत पक्राउ गरेको थियो । उनले गत माघ १७ गते गोरखाको विरोधसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि टिप्पणी गरेकी थिइन् । सोही कार्यक्रमको भिडियोलाई प्रमाण बनाएर प्रहरीले पक्राउ गरेको थियो ।

