
घोराही, दाङ
थारु समुदायको बर्का नाँचको बृत्तचित्र र थारु प्रदर्शनकारी कला पुस्तकको घोराहीमा विमोचन भएको छ । उक्त वृत्तचित्र र पुस्तकको विमोचन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, उपमेयर सीता सिग्देल न्यौपाने, थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरी र जिल्ला अध्यक्ष भुवन चौधरीले बुधबार संयुक्त रुपमा गर्नुभएको थियो ।
उक्त बर्का नाँचको बृत्तचित्र र थारु प्रदर्शनकारीकला पुस्तक घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा थारु कल्याणकारिणी सभा दाङले तयार पारेको हो ।
वृतचित्रमा लोप उन्मूख अबस्थामा रहेको थारु समुदायको बर्का नाँचलाई भिडियोमा संग्रहीत गरिएको छ भने थारु प्रदर्शनकारी कला पुस्तकमा थारु समुदायको इतिहास, कला संस्कृती, भेषभुषा, भाषा र परम्परालाई समेटिएको जनाइएको छ ।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले थारु समुदायको कला संस्कृती सम्पत्ती भएको र यसको संरक्षणमा सरकारले सहयोग गर्ने र थारु समुदायले नै बढी चासो दिनु पर्ने बताउनुभयो । साथै उहाँले थारु समुदायको कला संस्कृतीलाई प्रदर्शन एवं आम्दानी सँग जोड्न समेत आग्रह गर्नुभयो ।
त्यसैगरी, उपप्रमुख सीता सिग्देल न्यौपानेले थारु समुदायको संस्कार र ईतिहासलाई लिपिबद्ध गर्न सक्नु नै सम्पत्तीको जगेर्ना गर्नुभएको उल्लेख गर्नुभयो ।

त्यसैगरी पुस्तकका अध्ययता डा. गोबिन्द आचार्य, थारु कल्याणकारीणि सभाका केन्द्रीय कोषाध्यक्ष चुर्णबहादुर चौधरीले प्राचिन कालसँग जोडिएको बर्का नाँच र इतिहासको संरक्षण भएको बताउनुभयो ।
कार्यक्रम थारु कल्याणकारिणी सभाका सदस्य बसन्त चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको थियो भने कार्यक्रमको सहजिकरण सचिब प्रकाश चौधरीले गर्नुभएको थियो ।

