एप्पललाई उछिन्दै साओमी बन्यो विश्वको तेस्रो ठूलो स्मार्टफोन, उत्कृष्ट ५ मध्ये ३ ब्रान्ड चीनका !

  • १७ कार्तिक २०७७, सोमबार ००:३८ मा प्रकाशित
  • विश्वकै मूल्यवान ब्रान्ड एप्पलले स्मार्टफोनको बजारमा आफ्नो प्रभाव थप गुमाउँदै गएको तथ्यांकले देखाएको छ । अर्कोतर्फ स्मार्टफोनको विश्व बजारमा चिनियाँ ब्रान्डको दबदवा बढ्दै गएको छ । 

    इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) ले सार्वजनिक गरेको सन् २०२० को तेस्रो त्रैमासको तथ्यांकअनुसार विश्वका उत्कृष्ट पाँचमध्ये तीन स्मार्टफोन ब्रान्ड चिनियाँ रहेका छन् ।

    एप्पलले स्मार्टफोन उत्पादन गरेर विश्व बजारमा समेत पठाउने दर वा सिपमेन्ट (ढुवानी) समेत पछिल्लो तीन वर्षयता लगातार घट्दै गएको छ । स्मार्टफोन ब्रान्डको बजार प्रभुत्वको श्रेणीकरण (‍र्‍याङ्किङ) का लागि सम्बन्धित कम्पनी वा ब्रान्डले सिपमेन्ट गरेको फोनको संख्या र बजार हिस्सालाई आधार मान्ने गरिएको छ ।

    यसका आधारमा एप्पलको आइफोनलाई यस वर्षको तेस्रो त्रैमासमा आइपुग्दा दुई चिनियाँ स्मार्टफोन ब्रान्डले उछिनेका छन् । आईडीसीको चालु वर्षको तेस्रो त्रैमासको तथ्यांकले यस्तो देखाएको हो ।

    आईडीसीको तथ्यांकअनुसार कोरियाली कम्पनी सामसङ उत्कृष्ट स्मार्टफोन ब्रान्डका रूपमा रहेको छ भने दोस्रोमा हुवावे र तेस्रोमा साओमीले स्थान बनाएको छ । अघिल्लो वर्ष अर्को चिनियाँ ब्रान्ड ओप्पो दोस्रो नम्बरमा थियो भने तेस्रोमा हुवावे ।

    यस वर्षको तेस्रो त्रैमासमा आइपुग्दा साओमीले ओप्पोलाई मात्र नभएर स्मार्टफोनको विश्व बजारमा सबैभन्दा प्रिमियम ब्रान्डका रूपमा चिनिएको एप्पललाई समेत उछिनेर तेस्रो उत्कृष्ट स्मार्टफोन ब्रान्डका रूपमा उक्लिएको छ ।

    तथ्यांक अनुसार, हुवावेले अघिल्लो वर्षको यही त्रैमासको तुलनामा चालु वर्ष सबैभन्दा ठूलो बजार गुमाएको छ । हुवावेको सिपमेन्ट समीक्षा अवधिमा झन्डै डेढ करोड थानले घटेको छ भने यस अवधिमा बजार हिस्सा पनि करीब ४ प्रतिशत विन्दुले खस्किएको देखिन्छ ।

    २०२० को तेस्रो त्रैमाससम्ममा विश्व बजारमा कुल ३५ करोड ३६ लाख थान स्मार्टफोन आपूर्ति भएका छन् । यो अघिल्लो वर्षको समान अवधिमा ४९ लाख थानले बढी थियो ।

    अहिले पहिलो स्थानमा रहेको सामसङले चालु वर्षको तेस्रो त्रैमाससम्ममा ८ करोड ४ लाख थान सिपमेन्ट गरेको आईडीसीको तथ्यांकले देखाएको छ । यस्तै, हुवावेको ५ करोड १९ लाख, साओमीको ४ करोड ६५ लाख र एप्पलको ४ करोड १६ लाख थान रहेको छ ।

    यसका साथै, चालु वर्षको तेस्रो त्रैमासमा सामसङको बजार हिस्सा गत वर्षको तुलनामा करीब १ प्रतिशतले बढेर २२.७ प्रतिशत पुगेको छ । यसको सिपमेन्ट भने २.९ प्रतिशतले बढेको तथ्यांक छ ।

    हुवावेको बजार हिस्सा अघिल्लो वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्ष झन्डै ४ प्रतिशतले खस्किएको छ । सिपमेन्टमा २२ प्रतिशतले गिरावट देखिएको छ । साओमीले भने विश्व बजारमा समीक्षा अवधिमा पोहोरको भन्दा ४२ प्रतिशत अर्थात् एक करोड ३८ लाख थान बढी स्मार्टफोन सेट पुर्‍याएको छ । यससँगै तेस्रो अग्रणी स्मार्टफोन ब्रान्डमा उक्लिएको साओमीको बजार हिस्सा अघिल्लो वर्षको ९.१ प्रतिशतबाट अहिले १३.१ प्रतिशत पुगेको छ ।

    बजार गुमाउँदै गएको एप्पलको भने बजार हिस्सा समीक्षा अवधिमा १३ प्रतिशतबाट ११.८ प्रतिशतमा झरेको देखिन्छ । यस अवधिमा यसको सिपमेन्ट पनि १०.६ प्रतिशतले कम भएको छ ।

    एप्पलभन्दा एक स्थान पछाडि पाँचौंमा रहेको अर्को चिनियाँ ब्रान्ड भिभोले गत वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्षको समान अवधिमा ४.२ प्रतिशतले स्मार्टफोन सिपमेन्ट संख्या वृद्धि गर्दै ३ करोड १५ लाख थान पुर्‍याएको छ भने बजार हिस्सा पनि ०.५ प्रतिशतले बढाएर ८.९ प्रतिशत हासिल गरेको छ ।

    एप्पलको मोबाइल सेट सिपमेन्ट अघिल्लो वर्ष २०१९ मा पनि सन् २०१८ को भन्दा ६० लाख थानले घटेको थियो । यसले २०१८ को दोस्रो त्रैमाससम्ममा ४ करोड १३ लाख थान मोबाइल सेट विश्व बजारमा पठाएको थियो भने गत वर्षको सोही अवधिमा यो संख्या ३ करोड ५३ लाख थान रहेको आँकडा छ । सिपमेन्ट मात्र नभएर गत वर्षको तेस्रो त्रैमासमा बिक्री समेत ११.८ प्रतिशतले घटेको एप्पलले जनाएको छ ।

    कोभिड-१९ महाव्याधिका कारण पनि यो वर्ष स्मार्टफोनको विश्व बजार नराम्ररी खस्किने पूर्वानुमान थियो । त्यसविपरित स्मार्टफोनको बिक्री केही घटेको भए त्यो अपेक्षितभन्दा सन्तोषजनक रहेको बताइएको छ । सन् २०१९ को तुलनमा यस वर्षको तेस्रो त्रैमाससम्ममा स्मार्टफोन सिपमेन्ट १.३ प्रतिशतले मात्र घटेको आईडीसीको तथ्यांक छ ।

    Leave a Reply