
घोराही, ४ कार्तिक
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशभित्र अवस्थित कोरोना विशेष अस्पतालबाट लक्षण सहितका कोरोना संक्रमितहरुलाई दिईदै आएको नि:शुल्क उपचार यथावत रहने बताएका छन ।
मुख्यमन्त्री पोख्रेलले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत लुम्बिनी प्रदेशका ४ वटै कोरोना विषेश अस्पतालमा लक्षण देखिएका विरामीका लागि निःशुल्क उपचारको ब्यवस्था यथावत रहेको जानकारी दिएका हुन ।
संघीय सरकार अन्तर्गत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण तथा उपचार सम्बन्धि नयाँ मापदण्ड लागु गर्दै लक्षित समूह बाहेकका कोरोना संक्रमित नागरिकले कोरोना परिक्षण तथा उपचार खर्च स्वयं विरामीले गर्नुपर्ने ब्यवस्था गरिरहदा लुम्बिनी प्रदेशले लक्षण सहितका कोरोना संक्रमितको उपचार निशुल्क गरिने बताएको छ ।
लुम्बिनी प्रदेशमा दाङ, बाँके र रुपन्देहीमा गरी ४ वटा कोरोना विशेष अस्पताल रहेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जारी नयाँ मापदण्ड अनुसार आर्थिक रूपले विपन्न अशक्त, असहाय नागरिक, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रस्थानमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी, जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको मात्र निःशुल्क कोरोना परीक्षण हुने व्यवस्था गरेको छ भने अन्य कोरोना संक्रमित सर्वसाधारणले पैसा तिरेर कोरोना परिक्षण तथा उपचार गर्नुपर्ने प्रावधान राखेको छ ।

