ज्येष्ठ नागरिक दिवसको अवसरमा उपमहानगरद्वारा ज्येष्ठ नागरिकलाई विभिन्न सामग्री हस्तान्तरण

  • १६ आश्विन २०७७, शुक्रबार ०९:३८ मा प्रकाशित
  • दाङ, घाेराही, १५ असाेज । घोराही उपमहानगरपालिकाले ३० औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई विभिन्न सामग्री प्रदान गरेको छ ।

    उप-महानगरपालिकाको सामाजिक विकास शाखाले आज बिहीबार घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ज्येष्ठ नागरिकलाई सामग्री प्रदान गरेको हो ।

    उपमहानगरपालिकाका उपप्रमुख सिता सिकग्देल न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिकलाई उनीहरुले प्रयोग गर्ने विभिन्न खाले मनोरञ्जनका साधनहरु प्रदान गरिएको हो ।

    जसअन्तर्गत घाेराही उपमहानगरपालिका ६ स्थित ज्येष्ठ नागरिक समाजलाई खैजडि, मादल, मधुरा, बासुरी, पायल र कार्पेट प्रदान गरिएको छ ।

    त्यसैगरी दिवा सेवा केन्द्र उपमहानगरपालिका वडा नं १५ लाई विभिन्न विभिन्न धार्मिक ग्रन्थ प्रदान गरिएको छ । उनीहरुलाई स्वस्थानी वर्त कथा, महाभारत, भागवत, गीता र कृष्ण चरित्र प्रदान गरिएको हाे ।

    त्यसैगरी वडानम्बर १७ स्थित दिवा सेवा केन्द्रलाई १२ थान कुर्सी, शिवपुराण, देवी भागवत लगायतका किताबहरू प्रदान गरिएको छ ।

    त्यसैगरी घोराही वडा नम्बर १६ स्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रलाई भान्साका सामानहरु, सरसफाइका सामानहरु तीन थान पलङ, भाँडा माझ्ने साबुन लगायतका विभिन्न सामग्री प्रदान गरिएको छ ।

    कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्याैपानेले ज्येष्ठ नागरिकहरूको सम्मानका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

    उहाँले ज्येष्ठ नागरिकलाई आफ्नै घरपरिवारबाट सम्मानकासाथ राख्नुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकहरूको सम्मान गर्नु परिवारका सदस्यहरूको दायित्व भएको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकको खानपिन र स्वास्थ्यको बारेमा परिवारका सदस्यहरुबाट विशेष ख्याल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, ज्येष्ठ नागरिक जिल्ला संघ का उपाध्यक्ष भोलानाथ योगी, दिवा सेवा केन्द्र घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष पुरुषोतम खनाल, उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख मोती कुमारी विश्वकर्मा लगायतकाले ज्येष्ठ नागरिकको सम्मानमा घरपरिवार समाज र राज्यले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । # मिडियामा शेयर

    Leave a Reply