उपप्रधान तथा रक्षा र गृहमन्त्री ‘होम आइसोलेसन’मा

  • १३ भाद्र २०७७, शनिबार १३:५४ मा प्रकाशित
  • काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) कार्यालयका एक कर्मचारीमा  कोरोना संक्रमण देखिएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ होम आइसोलेसनमा बसेका छन् । 

    सीसीएमसी बैठकमा काम गर्ने कर्मचारीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा बसेका हुन् । 

    उपप्रधान तथा रक्षामन्त्री पोखरेलको निजी सचिवालय स्रोतका अनुसार पोखरेल निवासमै आइसोलेसनमा बसेका छन् । ‘एक साताअघि बसेको सीसीएमसी बैठकमा भित्रबाहिर गर्ने कर्मचारीको स्वाबको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उहाँ होम आइसोलेसनमा हुनुहुन्छ’, सचिवालय स्रोतले भन्यो । 

    यता गृहमन्त्री बादल भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर निवासमै बसेको उनको निजी सचिवालयले जनाएको छ । ‘सीसीएमसी सचिवालयका कर्मचारीको रिपोर्ट पोजिटिभ आएपछि गृहमन्त्री निवासमै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बस्नु भएको छ’, गृहमन्त्री सचिवालय स्रोतले भन्यो, ‘उहाँ  ‘कन्ट्याक्ट ट्रेसिङ’मा पर्नु भएपनि जोखिमको न्युन सम्भावना देखिएको आकलन गरिएको छ ।’ 

    सचिवालयका दुई सदस्य  ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि शनिबारका लागि बोलाइएको नेकपा सचिवालय बैठक भदौ १८ गते बस्ने स्थगित भएको छ। 

    अन्नपूर्ण पोष्टबाट

    Leave a Reply