शोकमा डुब्यो रोल्पा रुन्टीगढीको पाइँजा गाउँ 

  • ४ श्रावण २०७७, आईतवार १५:४२ मा प्रकाशित

  • रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ को पाइँजा गाउँ अहिले शोकमा डुबेको छ । शनिबार राती प्युठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटनामा परी पाइँजा गाउँका ६ सहित ७ जनाको मृत्यु भएको थियो ।
    एकै गाउँका ६ जना युवा मजदुरको उक्त दुर्घटनामा परी निधन भएसङ्गै पाइँजा गाउँ शोकमा डुबेको हो ।
    स्थानीय, जनप्रतिनिधि, नेपाल प्रहरी तथा सेनाको टोलीले धेरै समय लगाएर अप्ठ्यारो ठाउँबाट मृतकको शब संकलन गरी अहिले प्युठान स्वर्गद्वारी नगरपालिकाको भिंगृमा ल्याएर राखेको छ ।
    रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष यामबहादुर दसौदीले गाउँका होनहार ६ युवाहरु गुमाउन पर्दा गाउँ नै अहिले शोकमा डुबेको बताए । उनले शबलाई संकलन गरी प्राथमिक स्वास्थ केन्द्र भिंगृ प्युठानमा ल्याएर राखिएको बताए ।
    ‘हामी एकदम दुखी भएका छौँ, पीडा र शोकमा छौँ । मृतकका अभिभावकहरु पनि आउनुभएको छ, शब अहिले प्राथमिक स्वास्थ केन्द्र भिंगृमा राखिएको छ, यहाँ पोष्टमार्टम गरिसकेपछी रोल्पा लैजाने कि यतै अन्तिम संस्कार गर्ने भन्ने छलफल पछि सोही अनुसार गर्छौं ।’ वडा अध्यक्ष दसौदीले भने ।
    ‘मृतक मजदुरहरुले काम गर्ने कम्पनी ओसीस कन्ट्रक्सनसङ्ग क्षतिपूर्तिको लागि कुरो गर्दैछौं, कम्पनीले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपुर्छ’ उनले भने ।
    ओसीस कन्ट्रक्सनमा काम गर्ने ती मजदुरहरु बोकेको ट्याक्टर स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ तर्फ आउँदै गर्दा गएराती अन्दाजी १ बजे वडा नम्बर ३ को रुमाले भन्ने ठाउँबाट करीब ४/५ सय मिटर सडकबाट तल खसेर दुर्घटना भएको थियो ।
    उक्त दुर्घटनामा परी रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ एकै गाउँ पाइँजाका ६ युवाहरुले ज्यान गुमाएक थिए । उनिहरुसङ्गै ट्याक्टर चालक त्रिवेणि गाउँपालिकाका २५ वर्षिय कमल कुँवरको पनि ज्यान गएको थियो । दुर्घटनामा एकजना घाइते भएका थिए ।

    Leave a Reply