लिफ्ट दिएर होटलमा पुर्‍याई बलात्कार गर्ने चार पक्राउ

  • ३१ असार २०७७, बुधबार २१:४७ मा प्रकाशित
  • पोखराको लेकसाइडमा बलात्कार गरी फरार हुन खाजेका ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। उनीहरुले पोखरा–२, बागलुङ बसपार्कस्थित सहारा अस्पतालको अगाडिबाट मंगलबार बिहान ६ः३० बजे एक युवतीलाई उठाएर गाडीमा राखेर लेकसाइडको एक होटलमा पुर्‍याएर बलात्कार गरेका थिए।

    युवतीले लिफ्ट मागेपछि उनीहरुले युवतीलाई गाडीमा हालेर होटलमा लगेका थिए।

    नीलो रंगको ग १ च ७७४५ नम्बरको सवारी साधनमा आएकाहरुले युवतीलाई उठाएको खबरपछि प्रहरीले गाडीको खोजी थालेको थियो।

    प्रहरीले बुधबार बलात्कारमा संलग्न कास्कीको अन्नपूर्ण गाउँपालिका–३, का २४ वर्षीय कपिल गुरुङ, सोही ठाउँका २२ वर्षीय योगेश थकाली, अन्नपूर्ण–३,काँडेका १९ वर्षीय पुकार गुरुङ र १८ वर्षीय सुशल गुरुङलाई पक्राउ गरेको छ।

    उनीहरु बुधबार पोखरा महानगरपालिका वडा नं १८, लामागाँउबाट पक्राउ परेका हुन्। उनीहरुमाथि अपहरण तथा शरीर बन्धक र करणी सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ। नेपाल खबरमा छापिएको छ ।

    Leave a Reply