वसन्त अनुभव
दाङ ९ साउन
दाङमा थप १ जनामा कोरोना पोजिटिभ देखिएको छ । यो सँगै संक्रमितको संख्या तुलसीपुरमा ५७ जना र दाङ जिल्लामा ६ सय ५४ जना हुन पुगेको छ ।
आज पोजिटिभ देखिनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का ४० वर्षीय पुरुष रहेका छन । उनी कुवेतबाट नेपाल आई गत असार २१ गतेदेखि तुलसीपुर स्थित मा.वि. सेन्टरको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
बाँके नेपालगन्ज स्थित भेरी अस्पताल प्रयोगशालामा निजको नमुना स्वाव परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो। उक्त प्रयोगशालामा पिसिआर प्रविधिबाट गरिएको नमुना परिक्षणमा दाङका ३ जनामा कोरोना पोजिटिभ देखिएको थियो । जसमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४, ५ र ७ का क्रमश ३९, ३९ र २३ बर्षिय तिन जना पुरुष रहेका छन ।
दाङ जिल्लाबाट गत साउन ४ गते संकलन गरि पठाइएका १२५ जनाको नमुना स्वाव परिक्षण हुँदा हिजो र आज गरि ४ जनाको कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो र आज संक्रमित पुष्टि हुने चारैजनालाई कोरोना विशेष अस्पताल बेलझुण्डी दाङको आईसोलेशनमा पठाइएको छ ।
तुलसीपुर उपमहानगरका क्वारेन्टाइनबाट आज कोरोना नेगेटिभ आएका १२५ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुलाई १ हप्ता होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको थियो ।
आज डिस्चार्ज हुनेमा मावि सेन्टर क्वारेन्टाइनवाट १२ जना, राप्तिलाईफ केयर अस्पतालको क्वारेन्टाइनवाट ३२ जना , कालाखोलाको क्वारेन्टाइनवाट ३० जना र विजौरीको क्वारेन्टाइनवाट ४७ जना गरि १२१ जना भएको तुलसीपुर उपमहानगरका कोभिड फोकल पर्सन बिमल केसीले जनाएका छन।

