विष्णु न्यौपाने

साउदी अरब | साउदी अरबको पश्चिमी क्षेत्रमा रहेको नेपाली माहाबाणिज्य दुताबास जेद्धाका माहाबाणिज्यदुत रेवती रमण पौडेल र श्रम सहचारी राजु कुँवरको कार्यकाल समापन भए संगै यहाँ स्थित नेपाली समुदायहरुले संयुक्त रूपमा १३ जुलाई २०२० का दिन एक कार्यक्रम आयोजना गरी बिदाई गरेका छन्। एनआरएनए एनसीसी साउदीका कोषाध्यक्ष सन्तोष लुईँटेलको संचालन रहेको उक्त कार्यक्रम कोरोना माहामारिको कारण भौतिक उपस्थित जनाएर बिदाइ गर्न नसकिने भएकोले बिद्युतिय माध्यम तथा सामाजिक संजाल जूम प्रयोग गरी भिडियो कन्फरेन्सबाट भएको थियो।
कार्यक्रममा नेपाली माहाबाणिज्य दुताबास जेद्धाका वाणिज्यदुत भुवन पौडेल, एनआरएनए आईसीसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, सदस्य नारायण पासवान, महिला सदस्य यासमिन वैगम, एनआरएनए एनसीसी साउदीका अध्यक्ष तेज थापा, प्रमुख सल्लाहकार डमर यादव लगायतका पदाधिकारीहरू, ताबुक,जिजान र जेद्धा क्षेत्रका क्षेत्रिय समन्वय समितिका पदाधिकारीहरू, जेद्धा क्षेत्रमा कृयाशिल नेपाली सेवा समाज, तमुंधी, नेपाली युवा क्लब लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरू साथै बुध्दिजिबी र समाजसेविको उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्ने क्रममा वक्ताहरुले महावाणिज्यदुत रेवतीरमण पौडेल र महावाणिज्य दूतावास जेद्धाका लागी श्रमसहचारी राजु कुँवर प्रति बिशेष धन्यवाद व्यक्त गरेका थिए भने वक्ताहरूले महावाणिज्यदुत पौडेल र श्रमसहचारी कुँवरको कार्यकालमा नेपाली श्रमिकहरु प्रती उत्तरदायी रही श्रमिकहरूको समस्यालाई नजीकबाट नियालेर समाधान गरेको, आफ्नो मातहतमा रहेको क्षेत्रमा विभिन्न कारणले फसेका नेपाली घरेलु महिला कामदार तथा पीडित नेपालीहरुको उध्दार गर्दै क्षतिपूर्तिको लागि पहल गरेको, ब्लडमनी जस्ता जटिल केशहरुको समाधान गरेको,श्रमिक समस्या न्युनिकरण गर्नको निम्ती नेपाली समुदाय संग हातेमालो गर्दै विभिन्न समयमा सवारी दुर्घटना न्युनिकरण र हृदयघात तथा अन्य कारणले मृत्यु हुन बाट बच्नको निम्ती स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रमहरू ल्याएको,आवश्यकता अनुसार समय समयमा श्रमिक अन्तर्कृया कार्यक्रम गर्दै नेपाली श्रमिक तथा समुदायमा सुचनाको निरन्तर प्रवाह गरेको जस्ता विभिन्न काम कार्वाहीको मुक्त कण्ठले प्रसंशा गरेका थिए। साथ साथै अगामी दिनहरूमा राष्ट्रको सेवामा गरिने कार्य सफलताको कामना पनि गरेका थिए।
त्यसै गरी मन्तव्य राख्ने क्रममा माहाबणिज्यदुत पौडेल र श्रमसहचारी कुँवरले संयुक्त रूपमा आफ्नो कार्यकाल अवधिभर नेपाली श्रमिकहरूको हकहितका लागी ईमानदारीका साथ निस्वार्थ भावनाले काम गरेको र नेपाली श्रमिकहरुको उध्दार तथा सेवामा आफुले कुनै कसुर बाँकी नराखेको बताए। श्रमिक हितको कार्यहरू गर्न महावाणिज्य दुतावास जेद्धा परिवार र नेपाली समाजका प्रतिनिधिहरुको साथ र सहयोग प्रति धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकाल सन्तोषजनक रहेको बताए।
मन्तव्यकै क्रममा आफुहरु नेपाल वा अन्य जुनसुकै स्थानका प्रशासनिक क्षेत्रमा रहेर पनि साउदी अरबमा रहेका नेपाली श्रमिकहरुको हितको निम्ती यहाँ स्थित नेपाली समुदायले उठाएका हरेक श्रमिक समस्याहरूलाई सम्बोधन गर्न आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।


