के संसारमा भगवानको अस्तित्व साच्चिकै छ त ?

  • ११ श्रावण २०७७, आईतवार १३:२७ मा प्रकाशित
  • बसन्त अनुभब

    अत्यन्त जिर्ण अवस्थाको भत्किएको घर । घरभरी भिन्न भिन्न किसिमका अपांगताले ग्रसित छोराछोरी, कोहि पल्टिएको त कोही बसेका । ५ सन्तान मध्ये विभिन्न अपांगताले ग्रसित आफ्ना ४ सन्तान सहित मानसिक विक्षिप्त अवस्थाकि एक वृद्ध आमा जसलाई जिन्दगी भरी एकअर्काको हातसमाई जिन्दगीको उकाली ओराली सुख दुःखका साथ सँगै काट्ने अझ सातौ जन्मसम्म साथ निभाउने वाचा गरेका श्रीमानले त्यो बाचालाई लत्याएर जिन्दगीकै कठिन मोडमा अलपत्र छोडेर कहिल्यै नफर्कने गरि छोडेर गए ।

    जिन्दगीको गोरेटोमा आधाबाटो साथ, माया, सहारा दिएका लोग्नेले अनायासै छोडेर गए पनि बुढेसकालका सहारा आफ्ना सन्तान, छोराछोरी घरभरी छन भनेर आफ्नो चित्त बुझाउन पनि नपाएकी ती आमा जसले उल्टै आफ्नो सन्तानको सहारा बन्नु परेको छ । लोग्नेको देहावसान सँगै जिन्दगीका कष्टप्रद दिनहरु संगै पौठेजोरी खेल्दै आफ्ना भिन्न भिन्न खालका अपांगताले ग्रसित ४ सन्तानको लालनपालन, स्याहारसुसार गर्दै आएकी थिइन उनि ।

    उनको १ सन्तान घरबाटै बेपत्ता छन, २ सन्तान मानसिक रुपमा विक्षिप्त छन, १ सन्तान बोल्न नसक्ने सुस्तमनस्थितिको र १ सन्तान उठ्न, बस्न, बोल्न गर्न नसक्ने पुर्ण अपांग रहेका छन ।

    समय परिस्थिति सँगै पत्थर जस्तो कठोर बस्तु पनि टुट्छ भने मानिसको मन न हो । परिवारको यस्तो कहालीलाग्दो स्थिती, पति वियोग, सन्तानको हेरचाह, लालनपालनको चिन्ता आदि कारणले ती हिम्मती महिला जसले त्यस्तो परिस्थितिमा पनि परिवारलाई सम्हालेर राखिन, उनको धैर्यताको बाध टुट्यो र आफै एक मानसिक रोगी हुन पुगेकि छन ।

    माथिको कुराहरू पढ्दा यहाँहरुलाई लाग्न सक्छ मैले कुनै चलचित्रको काल्पनिक कथा भनिरहेको छु । सायद यी कुराहरू काल्पनिक रुपमा रचिएका भए कति राम्रो हुन्थ्यो होला । तर मैले दु:खका साथ भन्नु पर्दछ कि जतिपनी कुराहरू लेखिएका छन, जुन घटना बताइएको छ सबै शत प्रतिशत सत्य रहेका छन । बरु मैले सबै कुराको उठान गर्न सकेको छैन । दु:ख, पीडा र दर्दका पहाडलाई टपक्क राख्न सकिन ।

    प्रस्तुत घटना पथरी हसन दहको हो । पथरी शनिश्चरे नगरपालिका वडा नं. ५ कोशेलिचोक निवासी एक घिमिरे परिवारको हो । जहाँ एक परिवार जसका प्रत्येक सदस्य कुनै न कुनै समस्याबाट ग्रसित छ्न, असन्तुलित अवस्थामा छन । आर्थिक अवस्था अत्यन्त कमजोर र दयनीय अवस्थामा रहेको छ । घर जिर्ण भत्किएको अवस्थामा छ ।

    मानसिक रोगका कारण बुवाको केही वर्ष पहिले निधन भएको थियो । जेठो छोरा सुजन घिमिरे र जेठी छोरी सुस्मिता घिमिरे मानसिक रोगी एवं अपांग रहेका छन । माइलो छोरा बेपत्ता अवस्थामा छन । कान्छो छोरो बोल्न नसक्ने एवं शारीरिक र मानसिक रुपमा सुस्त रहेका छन भने कान्छी छोरी बोल्न, बस्न र उठ्न लगायत केही गर्न नसक्ने गरि पुर्ण अपांग अवस्थामा रहेकी छन । उनी जिउँदो लास सरि भुईमा लडिरहेको हुन्छिन । अनुहारमा झिगा बसे पनि धपाउन सक्ने हैसियत राख्दैनिन । सायद बृद्ध टाउकोले परिवारको लालनपालन एवं स्याहारसुसारको बोझ, चिन्ता, पिडा आदि थेग्न नसकेर होला आमा पनि मानसिक रोगी हुन पुगेकी छन ।

    परिवारको यस्तो बिजोग त्यतिबेला भयो जतिबेला परिवारमा २/४ पैसा कमाई ल्याएर परिवारको लालनपालन गर्ने बुवा पनि मानसिक रुपमा विक्षिप्त भै सदाका लागि यस संसारबाट लिए । अहिले परिवार स्थानीय समाजसेवीहरुको पहलमा आफन्तको घरमा बस्दै आए पनि अत्यन्त दु:खद अवस्था रहेको छ । स्थानीय यूवाहरुद्वारा सुजन घिमिरे बचाऊ अभियान नामाकरण गरि यो परिवारलाई आर्थिक सहयोग गर्ने हेतु एउटा कोष खडा गरेका छन् भने जसको सचिवमा मनोज धिमाल रहेका छन् जो कोहिले पनि यदि यो परिवार लाइ सहयोग गर्न चाहेमा टंक नारायण घिमिरे
    खाता # ०८४५७५०८४५५८७००१
    एन आई सी एसिया पथरी ब्रान्च मा सहयोग रकम जम्मा गरिदिन अक्नुहुने छ भने मनोज धिमाल ९८०३९४१८६६ मा सम्पर्क गरि अरु जानकारी लिन सक्नुहुने छ भनि भनिएको छ !

    माथिको घटना वृतान्त हेर्दा संसारमा के भगवानको अस्तित्व छ ? गंभिर भएर मलाई मलाई प्रश्न सोध्न मन लाग्छ । यदि अस्तित्व छ भने कहाँ छ र के गर्दैछ ? यति कठोर र निर्दयी कसरी बन्न सक्छ ? यस्तो दुर्दशा देख्दा पनि मुकदर्शक भएर कसरी रहन सक्छ । बज्रपात जति सबै यहि परिवारले भोग्नु पर्ने के त्यस्तो अपराध गरेको थियो र ?

    Leave a Reply