
रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा ५ जनाको हत्या भएको छ। कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको हाे ।
मृत्यु हुनेमा १ महिला र ४ पुरूष रहेका छन्। घटनामा मारिनेमा ४० वर्षिय माधव मुसहर, ३७ बर्षीय जानकी मुसहर,१४ वर्षिय पोसराज मुसहर, १७ वर्षिय करूण चौधरी र आशिष चौधरी रहेका छन्।
मारिएका माधव र जानकी श्रीमान-श्रीमती हुन् भने पोसराज अनाथ भएकाले फर्मका संचालक कृष्ण बहादुर पुनले मुसहर दम्पतीलाई पाल्न दिएका थिए।
कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्ण बहादुरको गंगादेवी पशु फर्ममा उनीहरूको सबैको सामुहिक हत्या भएको हो। घटनामा संलग्न भएका आशंकामा सुर्खेतका ३२ वर्षिय झसेन्द्र सिजांलीलाई प्रहरीले पक्राउ गरेकाे छ। उनी पनि सोही फर्ममा काम गर्ने कामदार हुन्।
प्रहरीले उनलाई गोठको भुसमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो। उनको मानसिक अवस्था ठीक नभएको बताइन्छ। प्रहरीले हाल घटनाको अनुसन्धान गरिरहेको जनाएकाे छ ।

