यशमीन वैगम सैयद

साउदी | क्षेत्रीको छोरो त्यो पाऊँ छुन्छ ,घिनले छुँदैन !
मानिस ठुलो दिल ले हुन्छ , जातले हुँदैन !!
महाकवि लक्ष्मी प्रसाद देवकोटाको प्रख्यात कृति मूनामदनको माथी उल्लेखित अंश अब इतिहासको पानामै सीमित रहने देखिन्छ । रूढिबादी परम्परागत मान्यता , अशिक्षा अनी संकीर्ण मानसिकताको उपज बाट ग्रसित समाज अनि जातीय विभेद (Social Discrimination) को कुरा म गर्दिन किनकी म त्यो समाजको अंग कहिल्यै बन्नु परेन न त त्यस्को आभास नै गर्नू पर्यो |
यसो विचार गर्दा जेष्ठ महीना हाम्रो देश नेपालको लागी त्यती सुखद रहेको देखिन्न ।आज भन्दा १९ वर्ष अगाडी २०५८ जेष्ठ १९ शुक्रबारका दिन नेपालको इतिहासकै कालो दिन अर्थात् सबैको प्यारा राजा बिरेन्द्र बीर बिक्रम शाहको सम्पूर्ण राजपरिवारको वंशनाश हुने गरी भएको बिभत्स दरबार हत्याकाण्डको ह्रदयविदारक घटनाले हाम्रो मानसपटलमा कहिल्यै नमेटिने छाप छाडेको छ, भने उक्त दरबार हत्याकाण्डको दोषी आज सम्म पनि रहस्यको घेरामुनि ओझेल परेको छ । प्रत्येक वर्ष जेष्ठ १९ आउना साथ नमीठो आभास सहित हाम्रो आँखा अनायासै रसाउन थाल्छ ।हार्दिक श्रद्धासुमन हाम्रा प्यारो दिवंगत राजपरिवार प्रति !!
यसैगरी नयाँ वर्ष २०७७ को जेष्ठ १० गते पश्चिम रुकूमको सोती नगरपालिका चौरज़हारीमा आफ्नो प्रेमिका कथित उपल्लो जातीकी भनिने सुष्मा मल्ल ठकुरीको आग्रहमा बेहुली लिन भनि मीठो सपना बोकी गएका एक दलित नव जवान प्रेमी नवराज बिक र होस्टेमा हैँसे गर्दै रमाउँदै उनका साथमा गएका करिब १९ जना निशस्त्र निर्दोष युवाहरू माथी सुष्माका परिवार र सम्पूर्ण गाउँ नै एकत्रित भई ढुंगा मूढा लगायतका घरेलू हथियारको प्रयोग गरी गरीएको निन्दनीय, अमानविय क्रूर आक्रमणमा परी नवराज बिक सहित आधा दर्जन युवाहरूको अकालमा भएको दर्दनाक मृत्यु र अन्य घाईते भएको घटनाले बिश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरू माझ शोकको लहर छाएको छ । जून घटना नेपाल जस्तो सानो शान्त मूलूकमा घट्नुले थप चिन्ताको स्थिति सृजना गरेको छ। यसप्रकारको नरसंहार हुनू दुर्भाग्य नै हो ।
नेपालको कानूनले जातीय आधारमा छूवाछूत लाई दण्डनिय आधार मानेको छ भने नेपालको संसदले २१ जेष्ठ २०६३ मा नेपाल छूवाछूत मुक्त राष्ट्र घोषणा समेत गरेको थियो, तर युग २१ औँ शताब्दीमा प्रवेश गरी सक्दा पनि छुवाछूत अनी जातीय मतभेदले ग्रस्त समाजमा संकुचित मानसिक संकीर्णताको पराकाष्ठाले व्याप्त भएको समाज द्वारा घटित अत्यन्त ह्रदय विदारक भयानक घटनाको बिश्वव्यापी निंदनीय रूपमा भर्त्सना गर्दै दोषी उपरी कडा भन्दा कडा सजाय दिलाई नवराज बिक तथा ति आधा दर्जन निर्दोष युवाहरूको आत्मा र सम्पूर्ण घाईते तथा उनिहरूका परिवार लाई न्याय दिलाउनु आजको आवश्यकता अनी समयको माग र तपाई हामी संपूर्ण नेपालीको कर्तव्य पनि हो ।
विगतका दिनहरूको यसो स्मरण गर्ने हो भने कन्चनपुरकी अबोध बालिका निर्मला पन्तको बलात्कार पछि गरीएको निर्मम हत्या प्रकरणमा जसरी देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरू र स्थापित सम्पूर्ण संघसंस्थाहरूले समेत एक भई नेपालको सडक देखी सदन सम्म मात्र नभई विश्वव्यापी रुपमा निर्मलाको न्यायको निमित्त सरकारलाई यथाशीघ्र दोषी र घटनाको सत्यतथ्य पत्ता लगाई निर्मलाको परिवारलाई न्याय दिलाउन विदेश स्थित दूतावासमा समेत पुगी ज्ञापनपत्र बुझाउँदै सक्दो प्रयास गरेको यथार्थले हामी सामू ताजा घटना सरह नै छाप छोडेको छ ।
तर जसरी निर्मलाको न्यायको लागी दिन प्रतिदिन महिनौ सम्म सडकमा उर्लेको जनदवाब , मानव अधिकारबादी हरूको आवाज , राष्ट्रीय, अन्तर्राष्ट्रिय स्तरको संस्था हरूको न्याय र क्षतीपूर्ति सहितको माग अनी नेताहरूको दवाबले सदन तथा संसद ताताएको त्यो अथक प्रयासको आवाजले आजको दिन सम्म दोषी पत्ता लगाऊन नसकेता पनि नेपाली जनसमुदायको एकताले आन्तरिक र बाह्यजगतमा गर्विलो पृथक छाप छोड्न सफल भएको थियो ।
आज जाजरकोटमा सिंगो गाउँ समाजले नै राक्षसी स्वरुप धारण गरी आधा दर्जन दलित युवाहरूलाई अनाहकमा दर्दनाक ज्यान लिंदै मच्चाईएको तान्डव स्वरुपको नर संहार बिरुद्दमा खोई त दोषीलाई सजायको माग गर्दै त्यसप्रकारको आवाज उठेको ?
कहाँ गए ति दलितका नाम बेची डलर कमाऊन पल्किएका दलित अगुवा नेताहरू ? कहाँ बिलिन भए मानव अधिकारकर्मीहरुका अधिकारवादी गफ हरू ?
खोई हामी देश विदेशमा रहेका सम्पूर्ण नेपाली हरूले एकस्वरमा आवाज उठाएको ?
खोई त शीर्षक एऊटा अनी समाचार अर्को बनाई यूट्यूब बाट कमीशन खान सिपालू भएका यूट्यूबे पत्रकारहरूले समाचार बनाएको ?
खोई त प्रभावकारी मीडियाहरूमा मर्मस्पर्शी रुपमा समाचार सम्प्रेषण भएको ?
झिनामसिना खबरले रंगिने हाम्रो सामाजिक संजालको भित्ताहरू नेपालको इतिहासमा अविस्मरणीय रुपमा नै दर्ता हुने यस्तो कहाली लाग्दो नरसंहारको घटनाले खोई त स्थान पाएको ?
घटना लाई शिथिल बनाउन या दोषीलाई बचाउन जुन सुकै राजनीतिक रंग या पक्ष अगाडी रहेता पनि यस बिषम परिस्थितिमा पुन: हामी सम्पूर्ण नेपाली एकजुट भई एकसाथ आवाज उठाउन आवश्यक छ । नवराज र उनका साथीहरुको मृतआत्माको चिरशान्तिको कामना सहित दोषीलाई सजाय र पीडितलाई न्याय दिलाउन नेपाल सरकारलाई साउदीको मरभूमी बाट विनम्र अनुरोध गर्दछु ।
यासमिन बैगम शैयद
गैरआवासीय नेपाली संघ ( NRNa ICC )
केन्द्रीय सदस्य.

