चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिकको ज्यान गयो

  • ३ असार २०७७, बुधबार ००:२१ मा प्रकाशित
  • लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ।

    भारतीय सेनाले मंगलबार राति जारी गरेको वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार राति भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ।

    भिडन्तमा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको बताइएको छ।

    यसअघि मङ्गलवार गलवान क्षेत्रमा भएको भिडन्तमा सेनाका एक कर्णेलसहित तीन भारतीय सैनिकको ज्यान गएको भारतीय सेनाले पुष्टि गरेको थियो। 

    मृत्यु हुनेमा १६ बिहार रेजिमेन्टका कमाण्डिङ अफिसर कर्णेल बी संतोष बाबु, ८१ फील्ड रेजिमेन्टका हवलदार के पलानी र १६ बिहार रेजिमेंटका सिपाही सुनील कुमार झा रहेको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ। 

    योसँगै उक्त घटनामा ज्यान गुमाउने भारतीय सैनिकहरूको सङ्ख्या २० पुगेको छ।

    चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन।

    लद्दाखमा भारतले निर्माण गरेको एउटा सडकबारे चीनले आपत्ति जनाएपछि दुवै पक्षबीच विवाद उत्पन्न भएको हो।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर चिनियाँ सैनिकलाई आक्रमण गरेका कारण दुई पक्षबीच गम्भीर शारीरिक सङ्घर्ष भएको बताएका छन्।

    चीनले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि नगरे पनि भारतीय सेनाले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गरेको छ।

    भारतीय पक्षले भने केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको र यो घटनामा गोली नचलेको र दाबी गरेको छ।

    चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेशमन्त्रालयले विद्यमान विवादलाई वार्ताबाट समाधान गरिने र त्यसका लागि दुवै देश तयार भएको जनाएको छ।

    भारतीय सेनाको वक्तव्यमा गलवान इलाकामा अहिले सङ्घर्ष विराम भएको पनि उल्लेख गरिएको छ।

    विवाद कहिलेदेखि

    भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर सन् १९६२ मा भएको युद्धमा भारतले नराम्रो हार व्यहोरेको थियो। 

    त्यसपछि सन् १९७५ मा अरुणाचल प्रदेशको सीमा क्षेत्रमा भएको झडपमा भारतीय सैनिक हताहती भएको घटनापछि चीन-भारत सीमामा सैनिक मारिएको यो पहिलो घटना हो।

    चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र हडपेको भारतले आरोप लगाउँदै आएको छ। सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरे पनि समाधान निस्किएको छैनन्।

    गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा पनि हात हालाहाल भएको थियो। नेपाल समय.कम बाट ।

    Leave a Reply