बायाँ गोडाले थिच्दा सेम्पु र वायाँ गोडाले थिच्दा पानी निस्कने।

गोरखा । गोरखा नगरपालिका क्षेत्रका बिभिन्न स्थानमा खुट्टाको सहायताले हात धुने मेसिन राखिएको छ । श्री स्वाँरा सघन गाउँ विकास केन्द्रले नगरपालिकाको कार्यालय सहित ६ स्थानमा सो मेसिन राखेको हो ।
सिआरएसको आर्थिक सहयोगमा स्वाँरा सघनले सञ्चालन गरेको कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत गोरखा नगरपालिकाको प्रवेशद्धार मझुवा देउराली, गोरखकाली रबर उद्योगमा भएको जिल्ला होल्डिङ सेन्टर, मनकामना बहिरा आवासिय माविको क्वारेन्टिन, वडा नम्बर ६ को कार्यालय र जिल्ला अस्पतालको खोप केन्द्रमा २ सय लिटर पानी अट्ने ड्रम सहितको सो मेसिन सञ्चालन ल्याइएको केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले जानकारी दिए ।

त्यस्तै गोरखा नगरपालिकाको कार्यालयमा भने ५ सय लिटरको राखिएको उनको भनाई छ । सो मेसिनको सोमबार एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरेका हुन । केन्द्रले स्थापना गरेकाे साे मेसिनकाे ब्यवस्थापन सहित सञ्चालन भने नगरपालिकाकाे कार्यालयले गर्ने बताइएकाे छ ।
मेसिनमा बायाँ गोडाले थिच्दा सेम्पु र वायाँ गोडाले थिच्दा पानी निस्कने बताइएको छ । मेसिनबाट गोडाको प्रयोग गरि सजिलै हात धुन सकिने र हातले छुन नपर्ने भएकाले कोरोना भाइरसको संक्रमण फैलिने जोखिम कम हुने विश्वास लिइएको छ ।
त्यस्तै स्वाँरा सघनले आरुघाट गाउँपालिकाको कार्यालय सहित क्वारेन्टिन लगायतका स्थानमा गरी ९ स्थान र शहिद लखन गाउँपालिकाकाे १० स्थानमा सो मेसिन जडान गर्ने तयारी रहेको कार्यक्रमका इन्जिनियर रबिन कट्टेलले बताए ।
उनका अनुसार ५ लिटरको पानी अट्ने ट्यांकी सहितको मेसिनलाई ३० हजार ६ सय ५० र २ सय लिटरकोलाई २४ हजार ६ सय ५० रुपैया लागत रहेको छ । आजको सिभिलखबरमा छापिएको छ।

