
काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड– १९) को नियन्त्रण तथा रोकथामका लागि आह्वान गरेको लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित बहिर्गमन रणनीति तयार पारेको छ ।
कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले लकडाउनको नयाँ कार्ययोजना तयार पारेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको लकडाउनको नयाँ रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो ।
जसअनुसार अब कोरोनाको पछिल्लो संक्रमित क्षेत्र स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रीन जोन), पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन) मा विभाजन गरिने बताइएको छ ।
ग्रीन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुलाइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ ।
यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ ।
यही रणनीति मे १ मा भारत सरकारले पनि लागू गर्ने निर्णय गरेको थियो ।
कामना न्यूज

