
वसन्त अनुभव
कमिरेचौर, दाङ, २ जेठ २०७७
दाङ जिल्लाको बंगलाचुली गाउँपालिकाले आफ्ना ८ वटै वडाहरुमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ । मुलुकमा कोरोना भाईरस (कोभिड–१९) का संक्रमितहरुको संख्या तिब्र गतिमा वृद्धि भैरहेको परिस्थितिमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँ कार्यपालिकाको बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो ।
जसअनुसार वडा नं.१ मा महेन्द्र मा.वि. स्यूजाको भवन,वडा नं.२ मा कालिका आ.वि. बढिपोखरा र एकिकृन नमुना बस्ती बढीपोखरालाई क्वारेन्टाईन बनाउने भएको छ ।
त्यसैगारी बंगलाचुली गाउँपालिका वडा नं.३ मा महेन्द्र मा.वी.श्रीवारी र मा.वि मुलाबारी भेडाबारी,वडा नं. ४ को महेन्द्र आ.वि.तापालाई क्वारेन्टाईन बनाउने भएको छ ।
त्यसैगारी वडा नं.५ को सुधा मावि झेलनेटा,वडा नं.६ को आधारभुत स्वास्थ्य केन्द्र भुतनेटा र चिउरीडाँडामा क्वारेन्टाईन बनाउने भएको छ ।
त्यसैगरी वडा नं.७ देशान्तरी सामुदायिक भवन र सरस्वती मा.वी.जवरकोट र वडा नं.८ मा एकिकृत नमुना वस्ती हाँसीपुर र आ.वि. हाँसीपुरमा क्वारेन्टाईन बनाईने भएको छ ।
यसअघि बंगलाचुली गाउँपालिकाले वडा नं.४ को झुलिडाँडामा २० बेडको र वडा नं.८ को जनकल्याण प्रा.वी हंसपुरमा १० बेडको क्वारेन्टाईन स्थापना गरीसकेको छ ।
यसैविच बैठकले गाउँपालिका भन्दा बाहिरबाट बंगलाचुली प्रवेश गर्नेहरुले अनिवार्यरुपमा सम्वन्धित वडाका अध्यक्षहरुलाई जानकारी गरायर मात्रै पालिका प्रवेश गर्न अनुरोध गरेको छ । विना कुनै जानकारी गाउँपालिका प्रवेश गर्नेहरुलाई अब गाउँपालिकाले क्वारेन्टाईनमा बसाल्ने निर्णय गरेको छ ।
गाउँपालिकामा अनावश्यकरुपमा छिमेकी उपमहानगर ,नगर तथा गाउँपालिकाबाट स्थानियहरु ओहोर दोहोर गरेको जनगुनासो बढेपछि गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।
साथै बंगलाचुली गाउँपालिकाले गाउँपालिकामा रहेका वित्तिय संस्था,सहकारी संस्था लगाएतलाई बैठक भेला,तथा अन्य आर्थिक कारोबार नगर्न नगराउन निर्देशन दिने भएको छ । महामारीका बेला जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कुनैपनि गतिविधि गर्न नदिने निर्णय गरेको हो ।

