
बसन्त अनुभव
काठमाडौं, २९ बैशाख
कोरोना संक्रमितको संख्या नेपालमा दिन प्रतिदिन बढ्दै गइरहेको छ । आज मात्र २४ जना कोभिड १९ का नयाँ संक्रमित थपिएका छन । विहान र दिउसोमा ११ जना नयाँ कोरोना संक्रमित पुष्टि भए लगत्तै बेलुका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलुका थप भएका नयाँ संक्रमित कपिलवस्तु, रुपन्देही र बर्दिया जिल्लाका हुन । मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी १३ जना संक्रमित थपिएका हुन्। यो सहित नेपालमा संक्रमितको संख्या १३४ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नं. ७ र यशोधरा गाउँपालिका वडा नं. ८ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै रुपन्देही समरीमाई गाउँपालिका वडा नं. ७ र लुम्बिनी संस्कृतिक गाउँपालिका वडा नं. ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
र त्यस्तै बर्दियाको राजापुर नगरपालिका वडा नं. ५ का ११ वर्षीया किशोरीमा कोरोना संक्रमण देखिएको छ । साथै विज्ञप्तिमा सबैजना ब्यक्तिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको उल्लेख छ।


