एक्कासी चट्याङ पर्दा २ जना महिलाको मृत्यु

  • १६ जेष्ठ २०७७, शुक्रबार २३:०७ मा प्रकाशित
  • फाइल तस्बिर

    वसन्त अनुभव
    रोल्पा, १६ जेठ / रोल्पा जिल्लाको त्रिवेणी गापामा चट्याङ पर्दा २ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँकी ७५ वर्षीया खिर्मा वाँठा र २१ वर्षीय आशा बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    शुक्रबार बिहान करिब १० बजेतिर परेको चट्याङ लागेर दुवै महिला बेहोस भएका थिए । बेहोस अवस्थामा भएका ती महिलाहरुलाई उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याउने क्रममा बाटोमै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

    बिहीबार साँझ मात्र आफ्नो माइती आएकी मृतक खिर्मा बाँठा शुक्रबार बिहान खाना खाएर भदै सबिन बुढामगर र बुहारी आशा बुढामगरसँग बसिरहेको बेला एक्कासी चट्याङ परेको थियो । चट्याङका कारण खिर्मा र आशाको ज्यान नै गयो भने मृतक आशा बुढामगरका पति २४ वर्षीय सविन बुढामगर सामान्य घाइते मात्र भए ।

    जिल्ला प्रहरी प्रमुख प्रनाउ चित्र बहादुर गुरुङका अनुसार घटना भएको जानकारी पाए लगत्तै प्रहरी टोलि घटनास्थल पुगेको थियो । घाइतेहरुको उद्वार गरि अस्पताल पठाउन एम्बुलेन्स खोज्दा नभेटिएपछी गाउँपालिकाको जिपमा दिउँसो अस्पताल पुर्‍याईएको थियो ।

    चट्याङले घरको ढोकानेरको पर्खालमा पनि क्षति पुगेको छ । चट्याङका कारण भएको यसरी असामयिक मृत्युले मृतकका परिवार, आफन्त लगायत छरछिमेक शोकमग्न भएका छन ।

    Leave a Reply