
भालुबाङ, दाङ
दाङ जिल्लाको राप्ती गाउँपालिकाको भालुबाङमा बम फेला परेको छ । राप्ती गाउँपालिका वडा नं. १ पुल्चोक भालुबाङ स्थित रामजहदी सामुदायिक वनको हाताभित्र एच ई बम फेला परेको थियो ।
रामजहदी सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुले आइतबार गोरेटो बाटो खन्ने क्रममा उक्त शंकास्पद बस्तु भेटाएपछी नजिकको सुरक्षा निकायलाई जानकारी गराएका थिए । सूचना पाए लगत्तै दाङ जिल्लाको जिल्ला सदरमुकाम घोराहीबाट खटी आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद बस्तु एच ई बम नै भएको यकिन गर्दै करिब दिउँसो १ बजेतिर बम डिस्पोज गरेको र सुरक्षाकर्मीले बम डिस्पोज गर्दा निकै ठूलो आवाज आएको स्थानीय बासीले बताएका छन ।
उक्त बम निकै पुरानो भएको र द्वन्दकालमा फालिएको हुनसक्ने ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गंगाबहादुर सारुले बताउनु भयो ।

