
संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु कामदारको रूपमा कार्यरत ४० वर्षीय रुपन्देही देबदह-६ की बिनु पराजुलीको कोरोना भाईरसको कारण गत ३ अप्रिल २०२० शुक्रवार मृत्यु भएको पुस्टि भएको छ ।
ती महिला कार्यरत घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो र अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो भने पोस्टमार्टम रिपोर्ट आइसकेको थिएन।
दुबई प्रहरीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको हो।
उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन्। पछिल्लो समयमा उनी वरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन्।आवुधावीस्थित नेपाली दूतावासले यसबारे अनौपचारिक सूचना आएको पनि जनाएको छ।
यूएईमा सोमबार थप तीन नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् भने हालसम्म ११ जना पुगेको छ। तीमध्ये दुई जनालाई निको भइसकेको छ।यूएईमा सोमबारसम्म २ हजार ७६ जनामा कोरोना संक्रमण देखिएको छ। एकसय ६७ जनालाई निको भइसकेको छ। ११ जनाको मृत्यु भएको छ।