एनआरएनएले गरेका हलसम्मका गतिविधी सार्वजनिक, अलपत्र नेपालीलाई रणनीति बनाउँदै घर फर्काउन पहल गर्ने

  • ८ बैशाख २०७७, सोमबार २०:०१ मा प्रकाशित
  • लन्डन- ‘कोभिड १९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार  विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन एनआरएनएले पहल थाल्ने भएको छ। खाडीमा श्रम गरिरहेका नेपालीहरु बिचिल्लीमा परेका खबरहरु आईरहेको बेला संघले घर फर्काउने रणनीति तय गर्दै पहल थालेको हो।  संघको ‘कोभिड–१९ ‘उच्चस्तरीय समितिको बैठकमा संघका अभियन्ताहरुले बिद्यार्थी, श्रमिक तथा बिबिध कारणले अबैधानिक रुपमा बस्दै आएका नेपालीहरुको अबस्थाबारे चिन्ता प्रकट गरेका छन्। 
    परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले अप्रिल महिनाको अन्त्य सम्म गैर आबासीय नेपालीहरुलाई यथास्थानमा रहन अनुरोध गरिरहेका बेला एनआरएनए ‘कोभिड–१९ ‘उच्चस्तरीय समितिको बैठकमा उक्त बिषय माथी गहन छलफल भएको हो । 
    आइतवार  कन्फ्रेन्स कलमार्फत सम्पन्न बैठकमा एनआरएनए अध्यक्ष कुमार पन्तले बैठकमा जानकारी गराउँदै पहिलो चरणको स्वास्थ्य सामग्री हस्तान्तर भइसकेको र दोस्रो चरणका सामान सोमबारसम्ममा हस्तान्तरण गरिने बताए । नेपाल सरकारले थप स्वास्थ्य सामग्री आवश्यक ठाने गैरआवासीय नेपाली संघका शाखाहरु दिन तयार रहेको पनि जानकारी गराए साथै उनले साइप्रस, अष्ट्रेलिया, अमेरिकालगायत विदेशका  विद्यार्थी र श्रमिक कोरोना भाइरसले  प्रभावित भएको बैठकलाई जानकारी गराए । 
    अध्यक्ष पन्तले पहिलो चरणमा जनचेतना, राहत, दीर्घकालीन नीति निर्माणको काम भइरहेको, र विदेशबाट फर्कन चाहनेको संख्या हजारौं जनाउँदै कुवेतमा ३ हजारभन्दा बढी कागजी प्रकृया पूरा नगरेका नेपालीको संख्या रहेको बताए । कयौं नेपालीलाई स्थानीय सरकारले सहयोग नगरेपछि नेपाली विभिन्न देशमा अलपत्र परेकालाई नेपाल फर्काउने बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवारीसँग छलफल भइरहेको र परराष्ट्रमन्त्री उक्त विषयमा सकरात्मक रहेको पनि जानकारी गराएका छन् ।

    बैठकमा पूर्वशिक्षामन्त्री गंगाधर तुलाधारले मुलुक भोलि संकटमा जान सक्नेतर्फ औंल्याए । ‘मातृभूमिमा पर्न लागेको संकटमा गैरआवासीय नेपालीले खेलेको भूमिकाको सरहना गर्न चाहन्छु, पूर्वमन्त्री तुलाधरले भने, ‘यस्ता महामारीले भविष्यका लागि पाठ सिक्ने अवसर हो । यसले स्वास्थ्य क्षेत्रमा जोखिम न्युनीकरण गर्न सहयोग पुग्छ । स्वास्थ्य क्षेत्रमा अहिले प्रयोग भइरहेका नयाँ अनुभवले आगामी पुस्ताको लागि उपयोगी हुनेछ ।’ अहिलेको अवस्थामा गैरआवासीय नेपाली समुदायले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दा देशको लागि अतुलनीय योगदान हुने  तुलाधरले बताए । 

    एनआरएनए स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाले कोरोना भाइरसको संक्रमण अहिले पनि बढ्दै गइरहेकाले जनचेतनाको अभियानलाई अझै तिब्रता दिनुपर्ने बताए । विदेश यात्रा गर्दा संक्रमणको १० गुणा खतरा हुने भएकाले सबैजना चनाखो हुन उनले सुझाए । उनले भने, ‘६ वटै क्षेत्रमा स्वास्थ्यसम्बन्धी जनचेतना कार्य सञ्चालन भइरहेको छ । 

    संघका उपाध्यक्ष डा बद्री केसीले पहिलो चरणमा ४ हजार टेस्ट किट  नेपालमा हस्तान्तरण भइसकेको र बाँकि  चीनमा भन्सारसम्बन्धी नियम परिवर्तन हुँदा खरिद गरेको सामान आउन ढिलाइ भएको बताए । उनले विदेशमा अलपत्र नेपालीको सहयोगका लागि बैदेशिक सामाजिक कोषमा रहेको रकम परिचालन गर्न सरकारसँग छलफल भइरहेको जानकारी दिए ।

    एनआरएनए उपाध्यक्ष सोनाम लामाले एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतोसहित श्रममन्त्रीसँग छलफल भएको बारेमा बैठकमा जानकारी दिए ।  उनले सामाजिक सेवा कोष परिचालन गर्न मन्त्री सहमत भएको जानकारी दिँदै उनले मन्त्रीले विदेशस्थित नेपाली दूतावाससँग र गैरआवासीय नेपाली संघबीच सहकार्य गरेर तत्काल राहतको कार्य सुरु गर्ने बताएको पनि बताए । 

     संघका अध्यक्ष पन्तको सभापतित्वमा सम्पन्न बैठकमा  महासचिव डा हेमराज शर्माले  कोरोना पीडितको लागि  एनसिसिमा भएको राहतको विवरण पेश गरेका थिए । संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले कोरोना भाइरस संक्रमणबाट प्रभावितका लागि आर्थिक सहयोग संकलन भइरहेको जानकारी बैठकलाई गराए । उनले सा–सानो डोनेशन, व्यवसायी, सरकार र अन्तराष्ट्रिय समुदायबाट आर्थिक संकलन गर्ने नीति लिइएको बताए । संघले आर्थिक संकलन तथा वितरणको लागि निर्देशिका तयार पारेर संघका राष्ट्रिय समितिमा छलफलको लागि पठाएको बताए । 
    यस्तै डा देवी बस्नेतले दक्षिण कोरियामा रहेका नेपालीलाई नेपाल फर्काउनको लागि पहल गर्न आग्रह गरे भने डा शक्ति चौरसियाले स्वास्थ्य सम्वन्धी सामग्री वितरण पारदर्शी बनाएको बताए ।
    विदेशबाट आएको सबै सामग्री सरकारी अस्पतालमा वितरण भइसकेको जानकारी दिँदै उनले भने, ‘पिपिइ अभाव भएका अस्पतालमा सबै सामग्री गत विहीवारसम्ममा पुगिसकेको र ती सामग्रीले अस्पतालमा फ्रन्टलाइनमा काम गर्ने चिकित्सकलाई सहयोग पुगेको छ ।’  उनले प्रि फन्डको व्यवस्था गर्न सके आगामी दिनमा काम गर्न सकिने सुझाव दिए । 

    डा पुरु श्रेष्ठले कोरोना भाइरसबाट समाजिक तथा आर्थिक असर, डिजास्टर म्यानेजमेन्टको लागि अल्पकालीन तथा दीर्घकालीन संयन्त्र तयार गर्नुपर्ने बताए । उनले समस्या देखाएर मात्र हुँदैन, समधानतर्फ समेत संघले ध्यान दिनुपर्नेमा जोड दिए । उनले विश्वभर छरिएका विज्ञहरुसँग मिलेर काम अघि बढाउन आग्रह गरे । अस्ट्रेलियाबाट डा कुश श्रेष्ठले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुपमा कोरोना बिरुद्धको गतिविधि अघि बढाउनु पर्नेमा जोड दिए । 

    सार्वजनिक स्वास्थ्य विज्ञ प्रोफेशर डा पदम सिम्खडाले नेपालमा पिसीआर टेष्टमा ध्यानदिन जरुरी रहेको बताए । उनले अहिले भइरहेको टेष्टले विगतमा कसैलाई कोरोना थियो की थिएन भनेर टेष्ट गर्ने गरिएको छ तर अहिलेको आवश्यकता कोरोना एक्टिभ छ की छैन भनेर टेष्ट हुनुपर्ने बताए।उनले भने, ‘कोरोना भाइरस संक्रमणमा कोरियाको टेष्ट सिस्टम र जर्मनको हेल्थ प्रणाली विश्वकै उत्कृष्ट छ ।’ डा सिम्खडाले काठमाडौंका मानिसलाई गाउँतिर जान दिँदा संक्रमण कम हुने बताए । उनले शहरमा मानिस बस्दा बिभिन्न कारणले मानसिक स्वास्थ्यमा समस्या आउन सक्छ त्यसैले सबैलाई आ–आफ्नो घर जान दिनुपर्ने सुझाव दिए । 
    यस्तै डा द्रोणप्रसाद रसाइलीले कोरोना भाइरसको -यापिट टेष्टलाई अफ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । बैठकमा  एनआरएनए सचिव गौरी जोशी, रञ्जित महतो, प्रोफेसर सत्यन राजभण्डारी (युके) र डा अनिली पोखरेल सुबेदी (पोल्याण्ड) को पनि सहभागिता थियो ।

    Leave a Reply