स्वास्थ्यकर्मीहरुलाईबिदा नदिने उपमहानगरको निर्णय

  • ५ चैत्र २०७६, बुधबार १२:४८ मा प्रकाशित
  • घोराही, ३ चैत्र / घोराही उपमहानगरले आपतकालीन अबस्थामा बाहेक अन्य समयमा स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय गरेको छ । नेपालका छिमेकी देशहरुसँगै बिश्वका डेढ सय देशहरुमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई ध्यान दिदै उपमहानगरले आफ्ना स्वास्थ्यकर्मीहरुलाई सुत्केरी र किरियापुत्री बाहेक अन्य अबस्थामा बिदा नदिने निर्णय गरेको हो ।

    नगरको बिपद व्यबस्थापन समितिको आज बसेको बैठकले कोरोना भाईरसको संक्रमण जाँच तथा सचेतिकरणमा स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्ने निर्णय गरेको हो । घोराही उपमहानगरको विभिन्न स्वास्थ्य संस्थाहरुमा एक सय १० जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेका छन् ।

    कोरोनालाई त्रासको रुपमा नभई सजक कसरी रहने भन्ने तर्फ ध्यान दिन बैठकले सबैलाई अपिल समेत गरेको छ । साथै तत्कालै स्वास्थ्य जाँचको उपकरण खरिद गरि पश्चिममा नारायणपुर र पूर्वमा कुईरेपानीमा घोराही प्रबेश गर्नेहरुको अनिबार्य स्वास्थ्य जाँच गर्ने समेत बैठकले निर्णय गरेको छ ।

    त्यसैगरी, बजार क्षेत्रका निजी अस्पताल बुद्ध इन्टरनेशनल, गोर्खा, दिपज्योती र मितेरीलाई सम्भावित विरामीहरुको उपचारका लागि कक्षको व्यवस्था गर्न समेत बैठकले आग्रह गर्ने निर्णय गरेको छ ।

    बैठकमा नगर प्रमुख नरुलाल चौधरीले कोरोना सहित कुनै पनि रोगका बिषयमा उपमहानगर गम्भिर रहेको भन्दै स्वास्थ्यको बिषय ध्यान दिन सबैलाई आग्रह गर्नुभएको छ । खानपान, सरसफाई, भेटघाट र आनीबानीमा स्वास्थ्यकर्मीहरुको सुझाबलाई मनन गर्न समेत उहाँले अपिल गर्नुभयो ।

    कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेलले पूर्व तयारीको नाममा होसियारी अपनाउनु पर्ने देखिएको तर त्रासको रुपमा नलिन आग्रह गर्नुभयो ।

    बाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले विश्वभरी फैलिरहेको प्रकोपको सामना होसियारी र सचेतना जगाएर गर्नुपर्ने स्थिती आएको बताउनुभयो । कार्यक्रमको सहजीकरण शाखा प्रमुख उमेश शर्माले गर्नुभएको थियो ।

    Leave a Reply