कोभिड–१९ लकडाउन चरम उल्लङ्घन

नेपालगन्जः भारतले गएरातीदेखि तीन हप्ते भारत लकडाउनको घोषणा गरेकोछ । भारतीय जनता सरकारले गरेको घोषणाको शतप्रतिशत पालनामा अग्रसर देखिएका छन् ।
यसले भारतमा कोरोना भाइरसको संक्रण जोखिम न्यूनिकरणमा सहजता देखिएको छ । तर, नेपालमा भने सरकारको निर्णय सरकार मातहतकै प्रशासन, प्रहरी र सरोकारवालाहरु कार्यान्वयनमा असफल भएकाछन् ।
संघीय तथा प्रदेश सरकारले देशमा कोरोना भाइरसको जोखिम उच्च भएको भन्दै चैत्र ११ गतेदेखि देश नै लकडाउन गरेकोछ । संघीय सरकारको निर्णय र निर्देशन बमोजिम बाँके प्रशासनले पनि बाँकेलाई लकडाउनसगैं जनता कफ्र्यु घोषणा गरेको थियो । तर, चैत्र ११ गते साँझदेखि चैत्र १२ गते विहान (यो समाचार तयार पार्दा)सम्मको लाई हेर्दा आफ्नै निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरि बाँकेलाई पूर्ण लकडाउन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का असफल भएकाछन् ।

बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीको लकडाउन प्रभावकारी रुपमा कार्यान्वय गराउने निर्देशन पनि असफल देखिएकोछ । किनकी बाँके प्रशासन र प्रहरीले जिल्लाभर जनता कफ्र्यु लगाएको र संघीय सरकारले देशनै लकडाउन गरेको अवस्थामा जिल्लामा विशेषगरि नेपालगन्जबासीहरु सडकमा आएपछि बाँके प्रशासन सरकारी निर्णय कार्यान्वयनमा असक्षम भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काको गैरजिम्मेवारी कार्य तथा निर्णय क्षमता अभावका कारणले यतिबेलाका बाँके कोरोना भाइरसको उच्च जोखिममा देखिएको स्थानीय जानकार बताउँछन् ।
सिडिओ खड्काले समयमै निर्णय गर्न नसकेका कारण भारतबाट जमुनाह नाका हुदै नेपालगन्ज प्रवेश गरेका पाँच सय बढि नेपालीहरु महेन्द्र बहुमुखी क्याम्पस स्थित अस्थायी क्वारेन्टाईनबाट भागेका थिए ।
बुधबार विहानसम्म पनि नेपाल–भारत सीमानाका जमुनाहमा थुप्रै नेपालीहरु अलपत्र परेका छन् । यद्यपी उनीहरुको उद्दार तथा कोरोना भाइरस भए नभएको स्वास्थ्य परीक्षण तर्फ बाँके प्रशासन र नेपालगन्ज उपमहानगरपालिकाले कुनै चासो दिएको छैन ।
जमुनाह नाकामा भेटिएक सुर्खेत मैनतडाका प्रेम खड्काले आफूहरुको स्वास्थ्य परीक्षण गरि तत्काल घर सम्म जाने वातावरण मिलाईदिन बाँके प्रशासन र प्रहरीलाई आग्रह गरेपनि कसैले सुनुवाई नगरेको बताएका छन् । घर जाने वातावरण बनाईदिन आग्रह गर्दा जमुनाहमा रहेका प्रहरीले उल्टै थुनेर राख्ने धम्कि दिएको उनी बताँउछन् ।
भारतबाट नेपाल फर्किएका सयौं नेपालीहरु नेपालगन्ज र आसपासका गाँउमा पसेका कारण बाँकेमा कोरोना भाइरस संक्रमणको जोखिम उत्तिकै बढेको र बाँके बासीहरु त्रसित भइरहेको खजुरा निवासी ऋषी पोखरेल बताउँछन् ।
उनका अनुसार यातायात अवरुद्ध भएपछि कर्णाली प्रदेश लगायतका पहाडी जिल्ला जाने भारतबाट आएका नेपालीहरु आफन्त खोज्दै बाँकेका गाँउ–गाँउ पसेका छन् । उनीहरुको स्वास्थ्य परीक्षण हुन सकेको छैन, यद्यपी कोरोना जोखिम बढेकोछ ।
बाँके प्रशासनको उदासिनता र प्रहरी मुखर्दशक बन्दा दिनभर घरभित्रै बसेपनि साँझ र विहान नेपालगन्जमा स्थानीयको घुइँचो लाग्ने गरेकोछ । यसले दिनभरी सुरक्षित भनिएको नेपालगन्ज साँझ र विहान उच्च जोखिममा देखिन थालेकोछ ।
नेपालगन्जको मुख्य क्षेत्रहरु सुर्खेतरोड, ब्यापारिक क्षेत्र न्यूरोड, घरबारीटोल, सदरलाई, त्रिभुवन चोक र एकलैनी लगायतका ठाँउमा समेत स्थानीयको भीडभाड नै देखिन्छ । तर, यी क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरी भने मुखदर्शक रहदै आएकाछन् ।
मुख्य सडकबाहेक यहाँका भित्री सडक, गल्ली, टोल र आसपासका गाँउमा सरकारले लागु गरेको लकडाउनको कुनै प्रभाव परेकोछैन । यहाँका पसल पूर्णरुपमा खुल्ला हुनुका साथै सर्वसाधरणहरु बेप्रवाह हिडँडुल गरिरहेका छन् ।
बाँकेको जिल्ला प्रशासन कार्यालय अगाडीको सडकमै समेत सर्वसाधरण ढुक्कसंग हिडडुल गरिरहँदा प्रशासनको गेटमै रहेका प्रहरी सिंगो प्रशासन नै चुपचाप रहने गरेकोछ । यसले पनि सरकारको लकडाउन नीति र बाँके प्रशासनको जनता कफ्र्यु घोषणा सर्वसाधरणबाट मात्र नभई बाँकेको प्रशासन, प्रहरी लगायत सम्बन्धित सरोकारवालाबाटै चरम उल्लङ्घन भएको देखिएकोछ ।
किनकी निर्णय गर्ने निकायले त्यसको कार्यान्वयन पनि गर्न सक्नुपर्छ यदि आफैले गरेको निर्णय कार्यान्वयन गर्न र गराउन त्यसको दोषी वा भागेदार निर्णय गर्ने ब्यक्ति वा संस्था हुने भएकाले बाँकेको लकडाउन पूर्ण कार्यान्वयन नहुनुको जिम्मेवारी बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी प्रमुख एसपी वीरबहादुर ओली, नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणा र सम्बन्धित वडाका वडाध्यक्षहरुले लिनै पर्छ ।
उक्त जिम्मेवारी बाँकेका प्रमुख जिल्ला अधिकारी खड् नेतृत्वकोे जिल्ला सुरक्षा समितिले समेत बहन गर्नुपर्ने अवस्थामा बुधबार विहानसम्म उक्त समिति समेत उदासिन देखिएको छ । यसले पनि सरकारले घोषणा गरेको लकडाउन पूर्ण कार्यान्वयनमा बाँके प्रशासन असफल सावित भएको छ भने बाँकेका सिडिओ खड्काको प्रशासकीय क्षमता पनि कमजोर देखिएको छ ।
यदि कोरोना भाइरसको संक्रमणबाट बाँच्ने र बचाउने हो भने सरकारले गरेको निर्णय पूणरुपमा कार्यान्वय गर्दै बाँके प्रशासनले आम बाँकेबासीलाई २४ सै घण्टा ‘होम क्वारेन्टाईन’मा राख्नुको विकल्प देखिदैन ।
विहान र दिउँसो सर्वसाधरणलाई घरबाट बाहिर निस्कन नदिने तर, साँझ केही घण्टाका लागि बजार खोल्नु र नागरिकलाई सडकमा उतार्नु कोरोना भाइरसको खोजीमा आफै हिड्नु सरह नै भएको छ ।
बाँके प्रशासनले तत्कालै पूर्ण लकडाउन र २४ सै घण्टा होम क्वारेन्टाईन लागु नगरे बाँकेमा कोरोना भाइरसको भयाभह स्थिती आउनेमा दुईमत छैन ।
सेतोखरी

