जनकपुरधाम । सरकारले जिल्लाका भन्सार कार्यालयमार्फत वर्षमा ३० दिन मात्र भारतीय सवारीसाधन ल्याउन पाइने प्रावधान ल्याएपछि भारतीय पर्यटक घटेको सरोकारवालाले औंल्याएका छन् । हरेक पटक आउँदा ५०० रुपैयाँका दरले राजस्व तिरेर १ वर्षमा अधिकतम ३० पटक भारतीय सवारीसाधन नेपाल ल्याउन पाउने सरकारको प्रावधान छ । तर, उक्तसीमा तोकिएपछि भारतीय पर्यटक घटेको जनकपुरका पर्यटन व्यवसायीले बताएका छन् ।
‘जनकपुर आउने धेरै भारतीय पर्यटक नै हुन्छन् । भारतीय सवारीसाधन आगमनमा समयसीमा तोक्दा पर्यटकसँगै व्यवसायी मारमा पर्छन्,’ जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले भने । भ्रमण वर्षलाई दृष्टिगत गरी १ वर्षका लागि भारतीय सवारीसाधनको समयसीमा तथा दस्तुर दुवै हटाउनुपर्ने उनले बताए । यसले भ्रमण वर्ष पनि सफल बनाउन टेवा पुग्ने उनको विश्वास छ ।
सीमावर्ती क्षेत्रमा दुई देशबीच रोटीबेटीको सम्बन्ध छ । पर्व, वैवाहिक तथा अन्य सामाजिक संस्कारमा आउजाउ गर्ने क्रम वर्षभरि नै चल्छ । जानकी मन्दिरमा पूजा अर्चना गर्न साता वा महीनैपिच्छे आउने भारतीय पनि छन् । ३० दिने समयसीमाका कारण यस्ता गतिविधि प्रभावित हुने अध्यक्ष साहले बताए । जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले साउन १ गतेदेखि लागू भएका ऐन–कानून अव्यावहारिक रहेको भन्दै सरकारले व्यवसायीसँग छलफल गरी संशोधन गर्नुपर्ने माग गरे ।
गत पुस २६ गते संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडा जनकपुरधाम आएका बेला स्थानीय व्यवसायीले मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै भारतीय सवारीसाधन आगमनको सीमा नतोक्न आग्रह गरेका थिए । सरकारको भ्रमण वर्ष २०२० मा भारतीय पर्यटक उल्लेख्य संख्यामा भिœयाउन सरकारको नीति नै बाधक बनेको ठहर व्यवसायीले गरेका थिए ।
भ्रमण वर्ष शुरू भएसँगै विदेशी एवं आन्तरिक पर्यटकको चाप पनि उत्तिकै छ । तर भारतीय सवारीसाधनलाई तोकिएको समयसीमाले सास्ती भोग्नुपरिरहेको गुनासो भारतीय पर्यटकले पनि पटक पटक गर्दै आएका छन् । विहार राज्यको मधुवनीबाट आएका राधेश्याम तिवारीले सवारीसाधनमा ३० दिने प्रावधानका कारण आफूहरू मर्का परेको बताए ।अभियानडेली.कमबाट