हिन्दु मन्दिरमा मुस्लिमले गरिदिए पिउनेपानीको व्यवस्था

  • ५ माघ २०७६, आईतवार २०:१९ मा प्रकाशित
  • विराटनगर, २७ पुस: डेढ दशकदेखि निर्माणाधीन रामेश्वर शिव मन्दिरमा मुस्लिम समुदायको संस्थाले पिउनेपानीको व्यवस्था गरिदिएको छ । विराटनगर महानगरपालिका–६ रामपुरमा निर्माणाधीन रामेश्वर शिव मन्दिर परिसरमा मुस्लिम समुदायले सञ्चालन गरेको संस्था नेपाल डेभलोपमेन्ट सोसाइटी काठमाडौंले पिउनेपानीको व्यवस्था गरिदिएको हो ।

    हिन्दु मन्दिरमा मुस्लिम समुदायको सहयोग नलिने भन्दै स्थानीय र मन्दिर समितिले विरोध जनाए पनि वडाध्यक्ष बिजय कामतको पहलमा सोसाइटीको सहयोगबारे सहमति भएको बताइएको छ ।

    मुलुकमा जातीय र धार्मिक सहिष्णुताको सन्देश दिन सो शिव मन्दिरमा नेपाल डेभलोपमेन्ट सोसाइटीले दिएको सहयोग लिइएको मन्दिरको निर्माण समितिले जनाएको छ ।

    सोसाइटीले मन्दिर परिसरमा वाटर स्टेशन निर्माण गरेको छ । सोअन्तर्गत मोटर, कलसँगै पानीट्यांकी बनाएर मन्दिर निर्माण समितिलाई हस्तान्तरण गरिएको नेपाल डेभलोपमेन्ट सोसाइटीका मोरङ संयोजक डा. सरिफ आलमले जानकारी दिए ।

    आठ कठ्ठा क्षेत्रफलमध्ये १७ धुरमा विगत डेढ दशकदेखि सो मन्दिर निर्माणधीन अवस्थामा छ । पछिल्लो समय स्थानीय तहको निर्वाचनपछि वडाध्यक्ष कामतको पहलमा स्थानीय महेन्द्र भण्डारीको अध्यक्षतामा २९ सदस्यीय निर्माण समिति बनाएर मन्दिर निर्माणको काम अघि बढेको छ । हालसम्म मन्दिरको एक तिहाई काम सम्पन्न भएको निर्माण समितिले जनाएको छ ।

    स्थानीयस्तरमा सहयोग उठाएर मन्दिर निर्माणको काम गर्दै आएको निर्माण समितिले नेपाल डेभलोपमेन्ट सोसाइटीलाई सहयोग गर्न आग्रह गरेको थियो । निर्माण समितिका सचिव भूमि ढुगानाले भने– ‘हामीले सहयोग गर्न आग्रह गरेपछि सोसाइटीले खानेपानीको व्यवस्था मिलाई दिएको हो ।’

    वडाध्यक्ष कामतले धार्मिक सहिष्णुताको सन्देश दिन सोसाइटीको सहयोगलाई स्वीकार गरिएको जानकारी दिए । समाजमा बस्ने सबै धर्मालम्बीबीच एकतासँगै एकले अर्को धर्मलाई सम्मान नगरेसम्म समाजको विकास नहुने भएकाले सहयोगलाई स्वीकार गरेर निर्माण सम्पन गराएको उनले जानकारी दिए ।

    सोसाइटीका मोरङ संयोजक आलमले जात र धर्मको नाममा नभई धार्किम सद्भाव र सहिष्णुताका लागि मन्दिर परिसरमा खानेपानीको उचित व्यवस्थापन गर्न सहयोग गरेको बताए । ‘निर्माण समितिको आग्रहअनुसार काम सम्पन्न गरेर जिम्मा लगाएका छौं’ उनले भने– ‘धर्म र जातभन्दा माथि उठेर धार्मिक एकताको सन्देश दिने हाम्रो प्रयास हो ।’

    मन्दिर मूल समितिका कोषाध्यक्ष देवेन्द्र कामतले निर्माण समितिले समितिलाई जानकारी नदिई मुस्लिम समुदायको संस्थाको सहयोग लिएकाले शुरूमा स्थानीयबासीले विरोध गरेको बताए ।

    मुस्लिम समुदायको संस्थाको सहयोग लिएर निर्माण समितिले मन्दिरमा काम गरेपछि मूल समिति विरोधमा उत्रि“दा निर्माण समितिका पदाधिकारी वडाध्यक्षसमक्ष राजीनामा समेत बुझाएका थिए । तर वडाध्यक्ष कामतको पहलमा सहयोग लिने विषयमा सबै सहमत भएपछि निर्माण समितिले काम अघि बढाएको अध्यक्ष महेन्द्र भण्डारीले जानकारी दिए । उदघोषडेलि.कम बाट

    Leave a Reply