काठमाडौं : संसद सचिवालयले गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गर्न अस्वीकार गरेको छ। शुक्रबार राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले दर्ता गर्न खोजेको विधेयक दर्ता गर्न अस्वीकार गरेको हो।
राजपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झालगायत नेताहरू संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका थिए। संविधान संशोधन विधेयक भाषा, वैवाहिक अंगीकृत नागरिकता, प्रदेश सीमांकन र राष्ट्रियसभामा प्रतिनिधि छान्ने विषय समावेश छ।
संशोधन विधेयकको धारा ११ मा भनिएको छ ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि संघीय कानुनबमोजिम नेपालको वैवाहिक अंगीकृत नागरिकता लिन सक्नेछ।’



