बारा–४ मा युवा शक्ति उदय : अजय कुशवाहा चुनावी मोर्चामा

  • १ माघ २०८२, बुधबार ०९:३८ मा प्रकाशित
  • उमेश कुशवाहा

    वीरगंज ३०, पौष — बारा निर्वाचन क्षेत्र नं. ४ मा चुनावी माहोल उकासिएको छ। नेपाली कम्युनिष्ट पार्टीले युवा पुस्तालाई अघि सार्दै पुराना नेताहरूमाथि स्पष्ट चुनौती प्रस्तुत गरेको छ।

    पार्टी बारा जिल्ला समितिले क्षेत्र नं. ४ बाट तत्कालीन नेकपा (माओवादी) का लाल किरण साह र तत्कालीन नेकपा (एकीकृत समाजवादी) का जेन-जी युवा नेता अजय कुशवाहालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टी एकीकरणपछि दुवै नेता अहिले नेपाली कम्युनिष्ट पार्टीमै आबद्ध छन्।

    अनुभवी लाल नेता किरण साहको तुलनामा युवा मतदाता र स्थानीय समुदायको समर्थन चौक चौउरा, चिया नास्ता पसलमा कुराकानी अजय कुशवाहातर्फ बढी केन्द्रित देखिएको स्थानियहरु बताउछन । कुशवाहा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बास्केटबल खेलाडीसमेत हुन् र संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

    राजनीतिक पारिवारिक पुस्तान्तरण, पृष्ठभूमि र पार्टी शीर्ष नेतृत्वसँगको निकटताले कुशवाहाको प्रत्यक्ष निर्वाचन टिकट पाउने सम्भावना बलियो बनाएको बताइन्छ। जेन–जी आन्दोलनपछि युवा मतदाताको आकर्षण नयाँ पुस्तातर्फ बढ्दै गएको र पार्टीले सोही अनुरूप जेन – जी युवा नेतृत्वलाई अघि सार्ने तयारी गरेको स्रोतले जनाएको छ।

    अन्य दलले पुराना नेताहरू अघि सारिरहेका बेला नेपाली कम्युनिष्ट पार्टीले अजय कुशवाहालाई मैदानमा उतार्दा बारा–४ को चुनावी समीकरणमा नयाँ मोड आउने ठम्याइ राजनीतिक विश्लेषकहरूले गरेका छन्।

    नाम सिफारिस भएपछि कुशवाहाले उच्च मनोबलका साथ चुनावी मैदानमा होमिन आफू तयार रहेको प्रतिक्रिया दिएका छन्। उनले नयाँ एजेन्डासहित चुनावी प्रतिस्पर्धा गर्ने र पार्टीको भरोसा पाएमा जीत सुनिश्चित हुने दाबी पनि गरेका छन्।