वामदेव गौतमले सुरू गरे अलग पार्टीको अभ्यास 

  • १२ असार २०७९, आईतवार १७:५७ मा प्रकाशित
  • १२ असार, काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि कुनै समूहमा नलागेका नेता वामदेव गौतमले आफ्नै नेतृत्वमा अलग पार्टीको अभ्यास सुरु गरेका छन् ।

    शनिबार ललितपुरको धोबिघाटमा राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका गौतमले आइतबार चन्द्रागिरीमा केन्द्रीय समिति बैठक राखेका छन् ।यो बैठकले ७१ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म पार्टी संरचना निर्माणको थालनी गर्ने गौतम निकट एक नेताले बताए । ‘धोबिघाटमै पदाधिकारी घोषणा गर्ने तयारी थियो । तर थप छलफल गर्न चन्द्रागिरीमा बैठक राखिएको हो’, ती नेताले भने ।नेकपा विभाजित भएपछि १४ माघ २०७७ मा गौतमले ६५१ सदस्यीय नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । यो अभियानले विभाजित नेकपालाई फेरि जोड्ने गौतमको घोषणा थियो ।तर सर्वोच्च अदालतले पार्टीको नाम विवादमा २३ फागुनमा नेकपा एमाले र माओवादी केन्द्रको एकता अस्वीकार गरेपछि नेकपाको अस्तित्व नै रहेन ।  २ भदौ ०७८ मा पुनर्स्थापित एमाले पनि विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्यो ।एकपछि अर्को विभाजनको अवधिमा सक्रिय राजनीतिक गतिविधिमा नदेखिएका गौतमले अन्ततः आफ्नै नेतृत्वमा अलग पार्टी संरचनाको अभ्यास सुरु गरेका हुन् । अलग पार्टी नभने पनि गौतमले राजनीतिक प्रतिवेदनमै पार्टी संरचना बनाउने उल्लेख गरेका छन् । त्यसका निम्ति नेकपा एकता राष्ट्रिय अभियानको नाम बदलेर ‘पार्टी एकता राष्ट्रिय अभियान’ राखेका छन् ।

    ‘पार्टी एकता समन्वय समिति नेपाल कम्युनिष्ट पार्टीको एउटा समूहको रुपमा रहनेछ । यसका सबै किसिमका दस्तावेजहरु नेपाल कम्युनिष्ट पार्टीका दस्तावेज सरह रहनेछन् । त्यसपछि यो अभियान पार्टी एकता समन्वय समितिमा रुपान्तरण हुनेछ’, गौतमको प्रतिवेदनमा भनिएको छ ।

    गौतमको प्रतिवेदन अनुसार यो पार्टीको सिद्धान्त भने एमालेकै जस्तो मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद रहनेछ ।

    ‘समन्वय समिति र यसमा संगठित हुने व्यक्तिहरुलाई मार्गदर्शन गर्ने सिद्धान्तका रुपमा माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) रहनेछ । समन्वय समितिको कार्यक्रम बहुदलीय समाजवाद हुनेछ’, गौतमले प्रस्ताव गरेका छन् । यसअघि गौतमले एकीकृत समाजवादीमा जान जबजलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने शर्त राखेका थिए ।

    माधव नेपालले पार्टी दर्ता गरेमा त्यसमै लाग्ने सार्वजनिक अभिव्यक्ति समेत दिएका उनले एकीकृत समाजवादीका निम्ति चुनावी गीत पनि लेखेका थिए । तर शनिबार राष्ट्रिय भेला राखेर गौतमले अलग पार्टी संरचना निर्माणको थालनी गरे ।

    ‘पुनः पार्टी एकता सम्पन्न नहुँदासम्म पार्टी एकता समन्वय समिति हाम्रो नेतृत्व केन्द्रका रुपमा रहनेछ’, उनको प्रतिवेदनमा छ । पार्टी सदस्यहरुका निम्ति गौतमले १७ बुँदे मार्गदर्शन तयार पारेका छन् भने राजनीतिक एजेण्डाका रुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहित १७ बुँदे संविधान संशोधनको प्रस्ताव अगाडि सारेका छन् ।

    तर एमाले र पछि नेकपाका उपाध्यक्ष रहेका गौतमको पार्टी संरचनामा राष्ट्रिय राजनीतिमा स्थापित नेताहरू भने नरहने देखिएको छ । लामो समयदेखि गौतमलाई साथ दिदै आएका नेता हरि पराजुलीले समेत गौतम नेतृत्वको पार्टी संरचनामा पदाधिकारी रहन अस्वीकार गरेका छन् ।

    ‘पार्टी एकता गर्ने अभियानमा उहाँ (हरि पराजुली) संलग्न हुँदै आउनुभएको थियो । तर अहिले पदाधिकारी बस्न मान्नु भएन’, गौतम निकट अर्का नेताले भने । पराजुलीले एउटै व्यक्ति दुई पार्टीको जिम्मेवारीमा रहन नसक्ने तर्क गरेका छन् ।

    तर गौतमले उनलाई मनाउने प्रयत्न गरिरहेका छन् । गौतमले आफूले बनाउन लागेको पार्टी नभएर पार्टी बन्नुअघिको अस्थायी संरचना भएको तर्क गरेका छन् । ‘पार्टी एकता समन्वय समिति, पार्टीमा रुपान्तरण हुनुभन्दा पहिलेको अस्थायी संरचना हुनेछ’ गौतमको तर्क छ, ‘रुपान्तरण नहुँदासम्म संयोजन समितिका सम्पूर्ण संरचना र दस्तावेजहरु पार्टी सरह रहनेछन् ।’

    तर गौतमले अहिले तीन पार्टीमा टुक्रिएका नेकपा पुनर्एकीकरण हुन नसकेको अवस्थाबारे भने प्रष्ट निर्णय दिएका छैनन् । ‘हाम्रो प्रयत्नका बाबजुद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनर्एकीकरण हुन सकेन भने पार्टी एकता समन्वय समितिको बैठकबाट आवश्यक निर्णय गरिनेछ’, राजनीतिक प्रतिवेदनमा भने गौतमले यति मात्रै लेखेका छन् । आफू निकट नेताहरुलाई भने अलग पार्टी नै बनाउन थालेका गौतमले बताएका छन् ।

    उद्देश्य : नेकपाको पुनरोदय

    एकता अभियान घोषणा गरेको १७ महिनापछि फेरि गतिविधि थालेका गौतमले आफू नेतृत्वको पार्टी संरचनाको उद्देश्य भने नेकपाको पुनरोदय रहेको जनाएका छन् । नेकपाको पुनर्एकीकरणका निम्ति गौतमले विकल्प समेत सुझाएका छन् । त्यसका निम्ति कम्तीमा पनि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता गर्न वार्ता सुरु गर्ने घोषणा गरेका छन् ।

    २ जेठ २०७५ को समझदारीका शर्तहरू संशोधन गरेर अगाडि बढाउँदा यी तीन पार्टीबीच एकता सम्भव हुने उनको प्रस्ताव छ । ‘… दुई अध्यक्ष रहने व्यवस्थाका ठाउँमा एक मात्र अध्यक्ष रहने व्यवस्था सही रहेको हाम्रो अनुभवले सावित गरेको छ । तसर्थ पुनःएकीकृत पार्टीमा एक अध्यक्ष र एक सह अध्यक्ष अथवा मानार्थ अध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था उपयुक्त हुनेछ’ गौतमको सुझाव छ, ‘एकता महाधिवेशनबाट साझा समझदारीमा अरु कुनै विकल्पमा जान पनि सकिने छ ।’

    यसले ३ जेठ २०७५ कै नेकपाको पुनरोदय हुने गौतमको निष्कर्ष छ । यसपछि जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग पार्टी एकता वा कार्यगत एकताका निम्ति वार्ता गर्नुपर्ने उनले प्रस्ताव गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published.