प्रमुख राजनीतिक दलले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाए: अध्यक्ष लिङ्देन

  • १८ फाल्गुन २०७८, बुधबार १७:२८ मा प्रकाशित
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको वैदेशिक सम्बन्ध खल्बलिएको बताएका छन्।

    बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिँढीको रुपमा प्रयोग गरेपछि वैदेशिक सम्बन्ध खल्बलिएको बताए।

    प्रमुख राजनीतिक दलकै कारण नेपाल शक्ति राष्ट्रको रणनीतिक प्रतिस्पर्धास्थलको रुपमा परिणत भएको उनले बताए।

    वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढीको रुपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण हाम्रो वैदेशिक सम्बन्ध पूर्ण रुपमा खल्बल्लिन पुगेको छ। र नेपाल शक्ति राष्ट्रको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ’, उनले भने, ‘सत्तापक्ष र प्रमुख राजनीतिक दलका क्रियाकलापले हुने नोक्सानीको मुल्य केवल सम्बन्धित राजनीतिक दल र नेताले मात्रै चुकाउनु पर्दैन। त्यसको भार सिंगो मुलुकले बेहोर्नुपर्नेछ। अहिले देश त्यही बाटोतर्फ उन्मुख छ।’

    उनले दलको सत्ता केन्द्रीत क्रियाकलापका कारण देश गम्भीर संकटतर्फ उन्मुख भएको बताए। अध्यक्ष लिङ्देनले राज्यका प्रमुख तीन अंगका बिचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलतको व्यवस्था ध्वस्त भएको उल्लेख गर्दै जनताले सरकार भएको अनुभूति गर्न नपाएको दाबी गरे।

    ‘अहिले प्रमुख राजनीतिक दलका सत्ताकेन्द्रीत क्रियाकलापले देश गम्भीर संकटतर्फ उन्मुख छ। मुलुकका तीन प्रमुख अंगबीच हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त छ। लामो समयदेखि संसद भुमिकाविहिन छ। संसद केही राजनीतिक दलहरुको अर्कमण्यताका कारण बन्द छ। संसद संसदजस्तो छैन’, उनले भने, ‘अदालतमाथिको राजनीतिक हस्तक्षेप र अदालतभित्रै विद्यमान भ्रष्टाचारका कारण अदालत, अदालत जस्तो छैन। जनताले सरकार भएको अनुभूति गर्न नपाएको अवस्था छ।’

    कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अगंमा भ्रष्टाचार र भ्रष्टाचारमा सबै प्रमुख राजनीतिक दलको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था नभएको उनले बताए।

    आफूभन्दा कमजोर छिमेकी युक्रेनमाथि रूसको आक्रमण जति भत्सर्नायोग्य छ, त्यत्तिकै हामीले यस घटनाबाट शिक्षा लिनुपर्ने उनले बताए।

    अध्यक्ष लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गरे। देशलाई कम्युनिष्ट र कांग्रेसको विकल्प आवश्यक भएको भन्दै उनले कम्युनिष्ट र कांग्रेसको विकल्प राप्रपा मात्रै भएको दाबी गरे।

    उनले राप्रपालाई आगामी दिनमा निर्णायक र अग्रणी शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको बताए। 

    ‘कम्युनिष्ट पार्टी तथा नेपाली कांग्रेसले अवलम्वन गरेको वैचारिक मार्गचित्रको विकल्प राप्रपाले अवलम्वन गरेको निरन्तरतासहितको परिवर्तन नै हो। कम्युनिष्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ। र त्यसको नेतृत्व राप्रपाले मात्रै गर्न सक्छ’, उनले अगाडि भने, ‘यो वास्तविकता हो। राप्रपा बाहेक कम्युनिष्ट र कांग्रेसको विकल्प तत्काल अरु कुनै पार्टी बन्छ अथवा बन्न सक्ने सम्भावना छैन। त्यसैले आगामी दिनमा राप्रपालाई निर्णायक र अग्रणी शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता हो।’

    राप्रपाको केन्द्रीय कार्य समिति बैठक बुधबारदेखि सुरु भएको छ। बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजंग गुरूङले प्रस्तुत गरेको सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री एवम स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले प्रस्तुत गरेको आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

    बैठक बिहीबार पनि बस्ने उनले बताए।

    प्रवक्ता श्रेष्ठले केन्द्रीय कार्यसमितिको बैठक मूल रुपमा आसन्न स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रीत हुने उल्लेख गरे। बैठकले यसअघि केन्द्रीय पदाधिकारीको बैठकले गरेका सबै निर्णयहरुलाई अनुमोदन पनि गर्ने उनले जानकारी दिए।

    Copied:setopati

    Leave a Reply