
काठमाडौं, माघ २२ । सरकारले विभिन्न समयमा पटकपटक गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीले गाडी भाडा वृद्धि गर्नुपर्नेमा जोड दिन थालेका छन् ।
नेपाल आयाल निगमले अन्तर्राष्ट्रियस्तरमा नै मूल्यवृद्धि भएको भन्दै विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको छ । यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको बढेको मूल्यअनुसार भाडा समायोजन हुनुपर्ने बताएका हुन् । उनीहरूले अहिलेको अवस्थामा पुरानो भाडाअनुसार लागत नै उठाउन समस्या परेको तर्क गरेका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा लागत उठाउन समस्या देखिन थालेको बताएका छन् । मूल्यवृद्धिअनुसार वैज्ञानिक भाडा समायोजन हुनुपर्नेमा उनको जोड छ व्यवसायीहरूले सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरूप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत रहेको बताएका छन् ।सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिरहँदा व्यवसायीले पनि भाडा वृद्धि गर्नेमा लाग्दा सार्वजनिक सवारी चढ्ने प्रयोगकर्ताहरू भने यसको मारमा पर्ने देखिएको छ ।
सरकारले गत २७ असार २०७८ देखि हालसम्म विभिन्न समयमा गरेर डिजेल–पेट्रोलको मूल्य प्रतिलिटिर १६ रुपैयाँले बढाएको थियो । व्यवसायीहरूले यसै मूल्यलाई आधार मानेर भाडा समायोजन गर्नुपर्ने आवाज उठाउन थालेका हुन् ।गत असारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बिदाइ हुँदै गर्दा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २८ प्रतिशतसम्म भाडा बढाएका थिए । राजधानी दैनिकबाट

