जहाजमा बँदेल ठोक्किएपछि नेपालगञ्ज विमानस्थल आसपासको झाडी फाँड्न थालियो

  • १७ कार्तिक २०७८, बुधबार १४:४३ मा प्रकाशित

  • १७ कात्तिक, काठमाडौं । जहाजमा बँदेल ठोक्किएपछि नेपालगञ्ज विमानस्थल आसपास रहेको झाडी फाँड्न शुरु गरिएको छ ।

    जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बुधबार बिहानबाट विमानस्थल आसपासको झाडी फाँड्न शुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख सुझाव झाले जानकारी दिए ।

    प्राधिकरणको स्रोत–साधनले नभ्याउने स्थानमा सुरक्षा निकायको सहयोग लिएर झाडी फाँड्न थालिएको उनले बताए । ‘हामीले मात्र गर्न सम्भव नहुने स्थानमा सुरक्षा निकायको सहयोग लिएका छौं,’ उनले भने ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार विमानस्थल कम्पाउण्डभित्र सरसफाइका लागि प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीको संयोजकत्वमा टोली खटिएको थियो । ३० जना प्रहरी, ४० जना सशस्त्र प्रहरी र ९० जना नेपाली सेनाको टोलीले झाडी फाँडेको प्रहरीले जनाएको छ ।

    यसअघि मंगलबार नेपालगञ्जबाट हुम्लाको सिमीकोट उड्ने तयारीमा रहेको सीता एयरको जहाजमा बँदेलका पाठा ठोक्किएका थिए । सो क्रममा जहाजमा प्वाल नै परेको थियो । ठूलो दुर्घटना टरेको सो घटनापछि जहाज ग्राउण्डेड भएको छ ।

    Leave a Reply