खाद्यान्न लगायतका आधारभूत समस्या भए तत्काल खबर गर्न प्रभावितलाई सरकारको आग्रह

  • ५ कार्तिक २०७८, शुक्रबार ११:२१ मा प्रकाशित
  • काठमाण्डाै – बाढी, पहिरो र डुबान प्रभावितहरुलाई खाद्यान्न लगायतका आधारभूत समस्या भएमा तत्काल खबर गर्न सरकारले आग्रह गरेको छ ।

    सङ्घ, प्रदेश र पालिका गरी तीनै तहको सरकारले प्रभावितहरूका लागि हिजोदेखि राहत वितरण गरिरहे पनि पहुँचमा पुग्न नसकेका वा समस्यामा परेकाहरुले  तत्काल खबर गर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

    अहिले बाढी र पहिरोका कारण धेरै मानिस स्कुल लगायतका सार्वजनिक ठाउँमा आश्रय लिएर बसिरहेका छन् ।

    पालिकाको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिले हिजोदेखि त्यसरी बसेकाहरुलाई खाद्यान्न लगायतका सामग्री वितरण गरिरहेको  छ । तर कोही छुटेका भएमा, कसैलाई समस्या भएमा पालिकाको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिमा सम्पर्क गर्न मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलले जानकारी दिनुभयो ।

    पालिकाहरुले पनि आफ्नै तरिकाले खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानको व्यवस्थापन गरिरहेको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले बताउनुभयो । यस्तै जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पनि राहत वितरणको काम भइरहेको छ।

    जिल्ला विपद् व्यवस्थापन कोषमा राहतका लागि जम्मा भएको रकमले नपुग्ने अवस्था आएमा भने तत्काल गृह मन्त्रालयसँग माग गर्नुपर्ने र गृहले तत्काल रकम उपलब्ध गराउने उहाँले बताउनुभयो। उज्यालो बाट

    Leave a Reply