शुक्र मोक्तान

रियाद साउदी अरब | गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले पछिल्लो अवधिमा नेपाली दुतावास रियाद र महावाणिज्य दूतावास जेद्धाको अनुरोधमा बेखार्चिमा परि स्वदेश फर्किन हवाई टिकेट खरिद गर्न नसकेका ६ जना नेपालीलाई हवाई टिकेट र नेपाल पुगेर बस्नुपर्ने क्वारेन्टिन खर्च उपलब्ध गराउने भएको छ |गैर आवासीय नेपाली संघ साउदी अरबको २६ सेप्टेम्बरमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको संघको अध्यक्ष तेज बहादुर थापाले बताउनु भएको छ | संघको आपतकालीन राहत कोष मार्फत रियाद बाट ४ जना र जेद्दा बाट २ जना स्वदेश फर्किने नेपालीलाई हवाई टिकेट दिने भएको हो |
संघका कोषाध्यक्ष सन्तोष लुइंटेलका अनुसार संघले जेद्दा बाट स्वदेश फर्किने नरेन्द्र सर्बारिया र महेन्द्र हेम्ब्रुमलाई अपुग टिकेट र क्वारेन्टिन खर्च उपलब्ध गर्ने छ भने रियाद बाट चुत्र बहादुर दमाई, दल बहादुर खड्का, सुनिता पहरी र भारती घर्तीलाई पूर्ण टिकेट र क्वारेन्टिन खर्च उपलब्ध गर्ने भएको छ |
कोषाध्यक्ष लुइंटेलका अनुसार यस अघि कोरोना महामारीकै अवधिमा एक महिला सहित अन्य ४ जनालाई पनि गैर आवासीय नेपाली संघ साउदीको आपतकालीन राहत कोष मार्फत संघले हवाई टिकेट उपलब्ध गराई सकेको छ | उनका अनुसार अघिल्लो ४ जना मध्ये जिजान,अल्कासीम र पूर्वी क्षेत्र दम्माम बाट एक/एक जना बेखर्ची तथा असक्त बिरामी परेका नेपाली सहयोग माग्न संघको सम्पर्कमा आएको थियो भने एक नेपाली दूतावास रियादको सेल्टरमा रहँदै आएकी महिलाको लागी नेपाली दूतावास रियाले सहयोगको अनुरोध गरेको थियो |

