मन्त्री छोड्न तयार छौं: योगेश भट्टराई

  • १७ असार २०७७, बुधबार १७:१२ मा प्रकाशित

  • नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पर्यटन मन्त्री योगेश भट्टराईले मन्त्री र मुख्यमन्त्रीहरू फेरेर भए पनि पार्टी मिलाएर अघि बढ्नु पर्ने बताएका छन्।
    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकमा भट्टराईले पार्टी मिल्छ भने आफूहरू मन्त्री छोड्न तयार रहेको बताएका हुन्।
    ‘तपाईंहरूलाई काम गर्न अप्ठेरो भएको हो भने मन्त्री र मुख्यमन्त्री फेर्नुस्। हामी मन्त्री छोड्न तयार छौं। तपाईंहरू दुई जनाले नै हामी जम्बो नेकपाको पाइलट हौं भन्नुभएको हो। संकटमा जहाज हाँक्न नसक्ने भएपछि त आ-आफ्नो बाटो लाग्नुस्,’ भट्टराईले बैठकमा भने।
    उनले दुई अध्यक्षलाई तपाईंहरूले पार्टी बाध्यताले मिलाएको हो कि इच्छाले भनेर पनि प्रश्न गरेका थिए।
    ‘बाध्यताले मिलाएको भए त तपाईंहरूका आ-आफ्ना बाध्यता होलान् तर इच्छाले मिलाएको हो भने विवादलाई मिलाएर अघि बढ्नुस्,’ भट्टराईले भने।

    यसअघि प्रधानमन्त्री ओलीले बुधबार बिहान गरेको छलफलमा पनि मन्त्री भट्टराईले नेताहरूले फराकिलो भएर सोच्नुपर्ने बताएका थिए।
    ‘तपाईं पनि गोलघरबाट मृत्युलाई जितेर आउनुभएको हो। प्रचण्डले पनि गोलाबारूद जितेर आउनुभएको हो। धेरै नेता मृत्यु जितेर आएका छन् त्यसैले फराकिलो भएर सोच्नुपर्छ,’ भट्टराईले प्रधानमन्त्रीलाई भनेका थिए,’पार्टी एकता बलियो हुँदा सबै बलियो हुने हो अन्यथा सबै कमजोर भइन्छ।’ सेतोपाटी बाट

    Leave a Reply