बहुदरमाई–७ छपकैयामा गणेश चतुर्थीको रौनक, बाजागाजासहित हजारौँ भक्तजनको भव्य जलयात्रा

  • २९ भाद्र २०८३, सोमबार १२:५८ मा प्रकाशित
  • उमेश कुशवाहा वीरगंज

    पर्साको बहुदरमाई नगरपालिका–७, छपकैया टोलस्थित राम जानकी मन्दिरको प्राङ्गणमा गणेश चतुर्थीको अवसरमा विशेष पूजा आराधना सुरु भएको छ।

    गणेश चतुर्थीको अवसरमा राम जानकी मन्दिरको प्राङ्गणबाट बाजा–गाजासहित धुमधामले गणेशजीको कलश जलयात्रा निकालिएको थियो। श्रद्धालु भक्तजनहरू कलश लिएर धोङही नदीसम्म पुगेका थिए। नदीबाट विधिवत् रूपमा जल लिएर पूजा–पाठ गरेपछि बाजागाजासहित गाउँ परिक्रमा गर्दै जलयात्रा पुनः राम जानकी मन्दिरको प्राङ्गणमा पुगेको थियो।

    जलयात्राका क्रममा स्थानीय गाउँले, महिला, पुरुष तथा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। हजारौँको संख्यामा श्रद्धालुहरूको सहभागिताले छपकैया टोलको वातावरण दिनभरि भक्तिमय र उत्साहपूर्ण बनेको थियो।

    मन्दिर परिसरमा पुनः विधिपूर्वक गणेशजीको पूजा आराधना सुरु गरिएको छ। भक्तजनहरूले भगवान् गणेशको पूजा आराधना गर्दै सुख, शान्ति, समृद्धि तथा परिवारको सुख–कल्याणको कामना गरेका छन्।

    गणेश चतुर्थीको पूजा आराधना आजदेखि पाँच दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। पाँच दिनसम्म दिनको समयमा भजन–कीर्तन तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन हुनेछन् भने रातिको समयमा विविध भक्तिमय तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।

    आजदेखि सुरु भएको उक्त पूजा आराधनामा स्थानीय तथा वरिपरि गाउँका श्रद्धालु भक्तजनहरू सहभागी हुने तथा पाँच दिनसम्म राम जानकी मन्दिर परिसरमा धार्मिक तथा भक्तिमय वातावरण रहने अपेक्षा गरिएको छ।

    धुमधामका साथ निकालिएको कलश जलयात्रामा बाजागाजासँगै भक्तजनहरूको उत्साहजनक सहभागिताले गणेश चतुर्थीको धार्मिक र सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको देखिन्थ्यो।