रोजगारी र विकास एजेन्डासहित अजय कुशवाहा घरदैलोमा

  • ६ फाल्गुन २०८२, बुधबार २०:३९ मा प्रकाशित
  • बारा क्षेत्र नम्बर–४ मा मतदातासँग प्रत्यक्ष भेटघाट, दिगो विकास एजेन्डा प्राथमिकतामा

    उमेश कुशवाहा, वीरगंज

    बारा क्षेत्र नम्बर–४ मा नेपाल कम्युनिस्ट पार्टी का युवा उम्मेदवार अजय कुशवाहाले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाएका छन्। उमेर मात्र २७ वर्षका कुशवाहा अन्तर्राष्ट्रिय बास्केट खेलाडी तथा सक्रिय सामाजिक कार्यकर्ताको रूपमा परिचित छन्। अहिले उनी दिगो विकास, रोजगारी सिर्जना र युवाको सशक्तीकरणलाई मुख्य एजेन्डा बनाउँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्।

    घरदैलो कार्यक्रम अन्तर्गत विभिन्न टोल–बस्तीमा पुगेर कुशवाहाले स्थानीय समस्याहरू नजिकबाट सुन्दै समाधानको स्पष्ट खाका प्रस्तुत गरिरहेका छन्। शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सडक पूर्वाधार र खेलकुद विकासलाई प्राथमिकता दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

    “राजनीति सेवा हो, सत्ताको माध्यम होइन,” भन्दै कुशवाहाले पारदर्शिता र जवाफदेहितालाई आफ्नो अभियानको मूल मन्त्र बनाएको बताएका छन्। युवामाझ लोकप्रियता कमाएका उनले विकास निर्माणमा नयाँ सोच र ऊर्जासहित अघि बढ्ने दाबी गरेका छन्।

    मतदातासँगको भेटघाटका क्रममा स्थानीय बासिन्दाले पनि युवा नेतृत्वप्रति आशा व्यक्त गरेका छन्। विशेष गरी रोजगारी र पूर्वाधार विकासमा ठोस योजना ल्याउनुपर्ने माग व्यापक रूपमा उठिरहेको छ।

    बारा क्षेत्र नम्बर–४ मा चुनावी माहोल तातिँदै जाँदा अजय कुशवाहाको सक्रियता र जनतासँगको प्रत्यक्ष सम्पर्कलाई अर्थपूर्ण रूपमा हेरिएको छ। युवा जोश र स्पष्ट विकास दृष्टिकोणका कारण उनको अभियानले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको विश्लेषण भइरहेको छ।