
उमेश कुशवाहा, पर्सा
वीरगंज– पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका रबिन्द्र कुमार चौधरी (उर्फ मुना चौधरी) ले आफू विजयी भए जनताको आधारभूत समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अटो चालकको पेशाबाट राजनीतिमा प्रवेश गरेका चौधरीले हार–जीत आफ्नो ठाउँमा भए पनि जनताको सेवा नै आफ्नो मुख्य उद्देश्य रहेको बताए। “म सामान्य परिवारबाट आएको व्यक्ति हुँ। दुःख, अभाव र बेरोजगारी के हो भन्ने मैले नजिकबाट भोगेको छु,” उनले भने, “यदि जनताले विश्वास गरेर जिताए भने पर्सा–२ का कुनै पनि गरीब र दिनदुःखी नागरिक भोकै बस्न नपर्ने वातावरण बनाउन पहल गर्नेछु।”
चौधरीले रोजगारी सिर्जना, साना तथा मझौला व्यवसाय प्रवर्द्धन र स्थानीय उत्पादनको बजार व्यवस्थापनमा विशेष ध्यान दिने योजना सार्वजनिक गरेका छन्। उनका अनुसार युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन सीपमूलक तालिम र सहुलियत ऋण कार्यक्रम ल्याउन पहल गरिनेछ।
त्यसैगरी, उनले पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्य सेवा र सुधारिएको शिक्षा प्रणालीलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। “सडक, खानेपानी र विद्युतजस्ता आधारभूत पूर्वाधारलाई व्यवस्थित गर्दै स्वास्थ्य चौकी र विद्यालयहरूको स्तर उकास्न म जुझारु रूपमा लाग्नेछु,” उनले प्रतिबद्धता जनाए।
स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका चौधरीले परम्परागत राजनीति भन्दा फरक शैलीमा जनतासँग प्रत्यक्ष संवाद गर्दै घरदैलो अभियानलाई तीव्र बनाएका छन्। उनका समर्थकहरूका अनुसार सामान्य पृष्ठभूमिबाट आएका उम्मेदवार भएकाले उनी जनताको वास्तविक समस्या बुझ्न सक्षम रहेको दाबी गरिएको छ।
अब हेर्न बाँकी छ—पर्सा–२ का मतदाताले स्वतन्त्र उम्मेदवार मुना चौधरीको एजेन्डालाई कत्तिको साथ दिन्छन्।

