‘बुस्टर डोज’ सुरु गर्न माग

  • ३ मंसिर २०७८, शुक्रबार १४:२२ मा प्रकाशित
  • कोभिड–१९ विरुद्घको खोप अभियानलाई तीव्रता दिँदै ‘बुस्टर डोज’ का लागि पनि प्रक्रिया थाल्न विज्ञहरूले सरकारलाई सुझाव दिएका छन् । खोप अभियान थालेको लामो समय भइसकेकाले बुस्टर डोज खोप कार्यक्रम सुरु गर्ने समय आइसकेको उनीहरूको भनाइ छ ।

    ‘खोपको दोस्रो मात्रा लिएको ६ महिना पुगिसकेकाले अब बुस्टर डोज खोप कार्यक्रमसमेत ल्याउनुपर्छ,’ नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने, ‘तत्काल प्राथमिकताका आधारमा दीर्घरोगी र फ्रन्टलाइनरलगायतलाई बुस्टर डोज दिन सकिन्छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बुस्टर डोजका सम्बन्धमा कुनै निर्णय नभएको बताए । ‘यसबारे आधिकारिक सिफारिस भएको छैन,’ उनले भने, ‘बुस्टर डोजको आवश्यकता प्रमाणित भए निर्णय लिइनेछ ।’

    हालसम्मका अध्ययनले खोपका कारण शरीरभित्र बन्ने एन्टिबडी ६ महिनादेखि वर्ष दिनसम्म रहने भएकाले पूर्ण मात्रा खोप लगाएकालाई बुस्टर डोज लगाउने बेला भइसकेको जनस्वास्थ्यविद्हरूले बताएका छन् ।

    बुस्टर डोजले संक्रमण नियन्त्रण गर्नुका साथै भाइरसको स्वरूप परिवर्तन गर्ने जोखिमसमेत कम गर्ने उनीहरूको भनाइ छ । ‘अध्ययन–अनुसन्धानले खोपले कोभिडविरुद्घको प्रतिरोध क्षमता ६ महिनादेखि वर्ष दिनसम्म कायम राख्छ, त्यसैले पूर्ण मात्रा खोप लिएर ६ महिना भइसकेकाहरू बुस्टर मात्राका लागि तयार रहनुपर्छ,’ वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने । कतिपय विज्ञ भने उच्च जोखिममा रहेका सबैले खोपको पूर्ण मात्रा पाएपछि मात्र बुस्टर डोजबारे सोच्न सकिने धारणा राखेका छन् ।

    बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार कोभिडविरुद्घ बुस्टर खोपले दुई मात्रा खोपबाट पाइएको सुरक्षालाई थप प्रभावकारी बनाउँछ । बेलायतले कम्तीमा ६ महिनाअघि पूर्ण खोप लिएका र कोभिडको बढी जोखिममा रहेकालाई मात्र बुस्टर डोज दिने गरेको छ । त्यहाँ हाल ५० वर्ष वा योभन्दा माथिको उमेर समूहलाई बुस्टर डोज दिइएको छ भने ४० वर्ष माथिकालाई पनि खोप लगाउन अनुमति दिइएको छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले पूर्ण खोप लगाइसकेकाले कम्तीमा ६ महिनापछि बुस्टर डोज लगाउन मिल्ने जनाएको छ । त्यस्तै, विश्वका अन्य ३६ भन्दा बढी मुलुकले पनि कोभिडविरुद्घको बुस्टर डोज धमाधम दिन थालिसकेका छन् ।

    सरकारले गत माघ १४ देखि कोभिडविरुद्धको खोप अभियान सुरु गरेको हो । हालसम्म कुल जनसंख्याको एक चौथाइ (२५.३ प्रतिशत) ले पूर्ण र झन्डै एकतिहाइ (२९.६ प्रतिशत) ले एक डोज खोप लगाइसकेका छन् । बिहीबारसम्म १ करोड ६७ लाख ९ हजार ६ सय ६२ डोज खोप लगाइसकिएको छ, जसअन्तर्गत ७७ लाख १३ हजार ४ सय ९ जनाले पूर्ण र ८९ लाख ९६ हजार २ सय ५३ जनाले एक डोज लगाएका हुन् ।

    हालसम्म विभिन्न मुलुक र दातृ निकायबाट २ करोड ४७ लाख डोज खोप भित्रिइसकेको छ । त्यसका आधारमा कम्तीमा ६० लाख डोज मौज्दात देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सन् २०२२ को फेब्रुअरीसम्म थप ३ करोड २० लाख डोज खोप आउने सुनिश्चित भइसकेको छ । नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल, जान्सेन, अस्ट्राजेनेका र फाइजर खोप लगाइएको छ ।

    Leave a Reply