
बेमौसमीरुपमा परेको अविरल बर्षाले नेपालमा फेरी ठूलो जनधनको क्षति गरेको छ । ५० जना बढी नागरिकहरुले अकालमै ज्यान गुमाएका छन् भने कम्तिमा ३० जना नागरिकहरु अहिले पनि बेपत्ता छन् । त्यसैगरी ३२ जना बढी गम्भिर घाईते अवस्थामा उपचाररत रहेका छन् । गत आईतबारबाट परेको अविरल बर्षाले मानविय क्षतिसँगै भौतिक पूर्वाधारहरु पनि तहसनहस बनाएको छ भने किसानले लगाएका अन्नबालीलाई सखाप बनाएको छ । अबिरल परेको बर्षापछि पहिरो, बाढी र डुवानले नागरिकहरुले ठूलो क्षति व्यहोर्नु परेको छ । दशै मान्दै गर्दा एक्कासी मनसुन सकृय हुँदा नेपालमा बर्षायाममाभन्दा धेरै क्षति भएको छ । यसरी पानी पर्ला भन्ने सोच अनुमान कसैको थिएन तर एक्कासी मनसुनमा बदलि हुँदा परेको बर्षा र हावाले ठूलो क्षति निम्त्याएर गएको छ । सैयौको घरबार विहिन बनाएको छ ।
बर्षेनी पानी पर्दा वित्तिकै यसरी क्षति किन भैरहेको छ र यसलाई रोक्न कस्तो खालका योजनाहरु सरकारले कार्यान्वयन गर्ने भन्ने बिषयमा चासो र बहसको भएको पाईदैन् । बर्षेनी पिडा र क्षति व्यहोर्ने तर नागरिकलाई सुरक्षित गराउने भन्नेमा सरकारको ध्यान पटक्कै गएको देखिदैन् । देखिन्छ त सरकार फेरबदल र भोटको राजनीति मात्रै । बर्षेनी यसरी हुँदै आएको क्षतिलाई रोक्नेको कुरा त परैको भयो पीडितहरुलाई उद्दार र राहत एवं पुर्नस्थापनामा सरकारले ध्यान दिन सकेको छैन् । जस्लाई प¥यो उसैलाई मात्रै पीडाको बोध हुने देखिन्छ । यस अघि पनि यसरी धेरैको जनधनको क्षति भयो तर अहिले सम्म कसैले पनि पूर्णरुपमा राहत र पुर्नस्थापनाको महशुस गर्न पाएका छैनन् । नेताहरु मन्त्रीहरु आउछन् र दिन्छन केवल सान्तोना र आश्वास्न । यसैमा सिमित हुने सरकारको न्यायलाई जनताले थप पीडाको महशुस गरेका छन् । लावालस्कर सहित नेता र मन्त्रीहरु पिडितहरुलाई भेट्न त पुग्छन तर उनीहरुको उद्धार, राहत र पुर्नस्थापनामा उनीहरुले फर्केर ध्यान दिएको कमै मात्रामा पाईन्छ । सधैभरीको पिडामा जसोतसो उनीहरु दिन विताउन बाध्य भएका छन् ।
अर्कोतर्फ यस बर्षको यो पानीले किसानले काटेर खेतमै राखेको धान सखाप भएको छ । कडा मेहनत र परिश्रम गरेर लगाएको खेती घर भित्रयाउने बेला बाढीले बढाउने र डुवानमा पार्दा उनीहरुलाई ठूलो क्षति भएको छ । घरभित्र राख्ने बेलाको अन्नलाई अहिले धानका बाला डुवानबाट खोजेर पाखा लगाउने काम भैरहेको छ । दाङमा ४१ सय हेक्टर क्षेत्रफलमा किसानहरुले काटेर राखेको धान डुवानमा परेको छ । ९ वडा पालिकामा ३४ सय हेक्टर क्षेत्रफलमा काटेर राखेको धानमा क्षति पुगेको र ४१ सय हेक्टर क्षेत्रफको धान डुवानमा परेको छ । अझै पानी परिरहेको अवस्थामा पूर्ण क्षति हुने सम्भावना रहेको छ । राप्ती गाउँपालिका र दंगीशरण गाउँपालिकाको डेढ सय विगाहाको धान बगेको छ । अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका १२ जिल्लामा ३६ हजार ४ सय ८० हेक्टर खेतमा काटेर खेतमै राखिएको धानबालीमा क्षति पु¥याएको छ । यो विपत्तीको बेला सरकारले किसान र पीडीत नागरिकलाई न्याय राहत दिने बेला आएको छ ।

