
काठमाण्डौ,असोज १५ नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन शुक्रबारदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजना हुँदैछ
महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो सवा बाह्रबजे पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने मूल व्यवस्थापन समितिका संयोजक तथा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले जानकारी दिए।
विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेशागत संगठनबाट चुनिएका प्रतिनिधि, प्रवासका संघ संगठनहरुबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान वमोजिम मनोनित सदस्यहरु प्रतिनिधिका रुपमा रहने बताइएको छ।
पार्टीको नीति, विचार र संरचनाबारे टुंगो लगाउन एमालेको विधान महाधिवेशन हुन लागेको हो। पार्टीको विचार, सिद्धान्त, संरचना, कार्यनीति एवं रणनीतिबारे देशभरका प्रतिनिधिले दुई दिनसम्म छलफल गरी निचोड निकाल्ने छन्।
महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमा छलफल हुनेछ। तीनवटै प्रतिवेदनमा छलफलपछि विधानको टुंगो लाग्ने स्थायी समिति सदस्य सुवास नेम्बाङले जनाए।
महाधिवेशनको दोस्रो दिन शनिबार समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ। तेस्रो दिन आइतबार दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ।
महाधिवेशनले पाँच वर्षका लागि पार्टीको नीति तय गर्नेछ। प्रस्तावित विधानमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिवसहित १४ सदस्यीय पदाधिकारीको प्रस्ताव गरिएको छ।
केन्द्रीय कमिटीको असोज ८, ९ र १० गतेको बैठकमा उपाध्यक्षको संख्या बढाएर ७ पुर्याउनुपर्ने माग उठेको थियो। प्रस्तावित विधानमा ३५ सदस्यीय स्थायी समितिको प्रस्ताव छ। पोलिटब्युरो र वैकल्पिक सदस्यको व्यवस्था हटाइएको छ।
अध्यक्षको नेतृत्वमा ७ सदस्यीय केन्द्रीय सचिवालय र पाँच सदस्यीय केन्द्रीय कार्यालयको प्रस्ताव गरिएको छ। विगतमा एमाले र माओवादीबीच पार्टी एकतापछि बनेको नेकपामा सचिवालयको संरचना बनाइएको थियो।