
यसवर्षको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट दुई संस्था र एक व्यक्ति सम्मानित भएका छन्।
यो पुरस्कारबाट सम्मानित हुनेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जागरण मिडिया र सुदूरपश्चिमको बैतडीका पुरण सिंह दयाल छन्।
दुई संस्थाका प्रतिनिधि र दयाललाई शुक्रबार बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी ओलीले जनही १ लाख नगद र ताम्रापत्रसहित पुरस्कृत गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए।
उनी भगत सर्वजितको नाममा प्रतिष्ठान र पुरस्कार स्थापना गर्न पहल गर्ने नेता हुन्।
भगत सर्वजित दलित जागरणका लागि राणाशासनमै आन्दोलनमा होमिएका अगुवा थिए।
राणाशासनकै बेला बाग्लुङमा सर्वजित विश्वकर्माले दलित आन्दोलन गरेका थिए। उनीहरूको नाममा २००३ सालमा उनले छुवाछुत गर्न नपाइने, दलितहरूले पनि जनै लगाउन पाउनुपर्ने र उनीहरूको श्रमको मूल्य दिनुपर्ने र दलितले पढ्न पाउनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए।
पछि उनले बाग्लुङमै दलित बालबालिकालाई पढाउने स्कुल खोलेका थिए।
दलित आन्दोलन चलाएका उनको सम्मानमा सरकारले २०७२ सालमा पुरस्कार स्थापना गरेको थियो। सरकारले वर्षेनी दलित जागरणका लागि काम गर्ने तीन जनालाई यो पुरस्कार वितरण गर्दै आएको छ।
copied:setopati

