शुक्र मोक्तान

रियाद, साउदी अरब | ग्रेगोरियन नयाँ वर्ष २०२० सुरू हुनै लाग्दा देखा परेको कोरोना महामारीले विश्वको हरेक क्षेत्र र व्यक्ति विशेषलाई प्रभाव पारेको छ। त्यस मध्येमा वैदेशिक रोजगार पनि एक हो। देशको अर्थतन्त्रमा २८ प्रतिशत रेमिटेन्स् मार्फत टेवा पुर्याउने वैदेशिक रोजगार त्यसै माथी रेमिट्यान्सको ५० प्रतिशत रेमिट्यान्स खाडी मुलुकको रहेको छ।तर यति ठुलो योगदान पुर्याईरहेको खाडी मुलुकमा पसिना बगाई रहेको नेपाली श्रमिक युवाहरू नै सरकारको प्राथमिकतामा नपर्नु दुखद रहेको छ।
कोरोना महामारीको दोस्रो लहरले नेपालमा उग्ररूप लिए संगै नेपाल सरकारले सबै अन्तर्राष्ट्रीय हवाई उडानहरूमा गत ६ मेई देखी १४ मेई २०२१ सम्म रोक लगाईयो भने पुनः त्यसैलाई निरन्तरता दिँदै ३१ मेई २०२१ सम्म लम्ब्याउने सुचना प्रकाशित गरियो र १ जुन २०२१ बाट लागु हुने गरी भारत, कतार र टर्की हुँदै नेपाल फर्कीनको लागी मापदण्ड तोकी उडान अनुमति दियो तर खाडीको अन्य मुलुकलाई प्रतिबन्ध कायम राखियो।
खाडी मुलुक मध्ये साउदीका लागी नेपाली कुटनितिक नियोगको पहलमा विश्वको कयौँ मुलुक लगायत दक्षिण एशियाका राष्ट्रहरूलाई आगमनमा साउदी सरकारले प्रतिबन्द लगाउँदा पनि नेपालको लागी आवागमनमा रोक लगाएन। तर पछिल्लो समयमा कोरोना महामारीको दोस्रो लहरको प्रकोपले नेपालमा उग्ररूप लिए संगै नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाई यातायातमा रोक लगाउँदै गर्दा साउदी अरबमा कार्रत नेपाली श्रमिक वर्ग प्रभावित भएको थियो/छ।
एकातिर सरकारले उडान अनुमति दिएको थिएन भने अर्को तिर नेपाल-साउदी बिचको हवाई उडान जारी थियो/छ। यस बिचमा चार्टर्ड उडान र संस्थागत क्वारेन्टिनको हवाला दिँदै हवाई टिकटमा चरम अनियमितता भएको प्रमाणहरू बाहिरिएको छ। सामान्य अवस्थामा २०-३० हजारमा उपलब्ध रहेको एकतर्फी एयर टिकटको मुल्य अहिले १ लाख ८० हजार देखी २ लाख १५ हजार सम्ममा बिक्री भई रहेको छ।
पछिल्लो समयमा नेपाल सरकारले १ जुलाई २०२१ बाट लागु हुने गरी नियमित तथा व्यबसायिक उडानको अनुमति दिएको छ यद्यपी हवाई भाडा दरमा भने खासै अन्तर आएको छैन। एका तिर चर्को हवाई भाडा अर्को तिर मान्यता प्राप्त कम्पनिको कोरोना विरूद्धको खोप नलगाएका हरूलाई अनिवार्य संस्थागत क्वारेन्टिनको व्यवस्थाले गर्दा खाडी मुलुकहरू मध्ये साउदी अरब बाट छुट्टीमा नेपाल गएका नेपाली श्रमिकहरू प्रभावित भएका छन्।

साउदीको एक प्रतिष्ठित कम्पनीमा कार्यरत एक श्रमिक विनोद राय भर्खरै नेपाल बाट फर्किएका छन्। आवातजावातको दुई तर्फी एयर टिकटको बावजुत रू. एक लाख ट्राभल एजेन्सीलाई बुझाएर उनी साउदी फर्किएका हुन्। उनले भने “दूतावासले सुचना जारी गरेर भन्छ संस्थागत क्वारेन्टिनको खर्च कम्पनिले व्यहोर्छ, कम्पनी भन्छ क्वरेन्टिनको व्यवस्था हामी आफैं व्यस्थित गराउछौँ अन्य क्वारेन्टिनको खर्च व्यक्ति स्वयंको हो। अब म के गरौँ ? चाहे सरकार होस या कम्पनी चपेटामा पर्ने त हामी कामदार नै हो।”

करिब ६ वर्ष साउदीको बसासाई पश्चात छुट्टीमा नेपाल गएका कुमार थापाले पनि साउदी फर्किने टिकट हुँदाहुँदै क्वारेन्टिन् वापतको रू. ९८ हजार ट्राभल एजेन्सीलाई बुझाई उडान पर्खी रहेका छन्। उनी भन्छन् पैसा नतिरौँ फर्किन पाईन्न, नफर्कौँ त कम्पनी संग वर्षौँको हिसाब लिन बाँकी छ। अर्को तिर नेपालमा केही गरौँ त विभिन्न समस्याहरू आँखै सामु छन्।

विभिन्न देशहरूले वैदेशिक रोजगारीका लागी खोपहरूको व्यवस्था मिलाएका छन् भने त्यस सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण भएको देखिँदैन। यति बेला २५-३० हजारको टिकट मुल्य रहेको विशेषत: खाडी मुलुकमा फर्किँदै गरेको नेपाली श्रमिक युवाहरूले टिकट मुल्य सहित १ लाख ८० हजार देखी २ लाख ५० हजार सम्म तिरेर कर्म भूमीमा फर्किरहेका छन्। सस्तो चरम अनियमितता हुँदा पनि नेपाल सरकार, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग र सामाजिक संघ संस्थाहरू मौन रहेको देखिन्छ। आखिर यो किसिमको शोषण कहिले सम्म ?

