
वीरगञ्ज, ३१ बैशाख । नारायणी अस्पतालमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
अस्पतालमा बैशाख १८ गतेदेखि कोरोना पुष्टि भएर उपचार गराइरहेकी ५० वर्षीय सखुवापर्सौनी गाउँपालिकाको दकैला बहुवरीकी महिलाको मृत्यु भएको हो ।
उनको गएराति ९ बजेर ३५ मिनटमा नारायणी अस्पतालस्थित अईसियू वार्डमा उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार गम्भीर किसिमको निमोनियाबाट पिडित महिलालाई अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको थियो ।
योसँगै पर्सामा बिहिबार मात्रै ११ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । कोरोनाबाट एकै दिनमा मर्ने यो अहिलेसम्म कै सबैभन्दा धेरै संख्या हो ।
थपिए १५६ सङ्क्रमित
वीरगञ्जस्थति नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परिक्षणमा थप १ सय ५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
अस्पतालस्थित पिसिआर प्रयोशालामा पर्सा, बारा लगायतका जिल्लाबाट ल्याएइको २ सय ८८ जनाको थ्रोट स्वाब नमुनालाई परिक्षण गर्दा ४९ महिलासहित १ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै पर्सा जिल्लाका बासिन्दा छन् । पर्साका १ सय १४, बाराका ३२, रौतहटका ८ सर्लाही र महत्तरीका १/१ जना गरी १ सय ५६ जनामा कोरोना देखिएको डा. दासले जानकारी दिए ।
सङ्क्रमण पुष्टि भएकाहरु १८ वर्षदेखि ९० वर्षसम्म रहेका छन् भने उनीहरुको सिटि भ्यालु १४.१ देखि ३५.९ सम्म रहेको छ ।
श्रोत यात्रा डेली

