खोपको विषय १५ दिनमा ‘ब्रेक थ्रू’ निर्णय हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

  • १४ जेष्ठ २०७८, शुक्रबार १४:४८ मा प्रकाशित
  • १४ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अबको १५ दिनमा खोप खरिदको विषय टुंगो लाग्ने बताएका छन् । सरकारले विभिन्न देशमा खोप खरिदको लागि पहल गरिरहेको र सकारात्मक जवाफ आएको भन्दै उनले खोप आउने आशा बढेको बताएका हुन् ।
    स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले अबको १५ दिनभित्रमा केही देशले सहयोग घोषणा गर्ने प्रतिबद्ता जनाएकाले १५ दिनमा ब्रेक थ्रू निर्णय हुने दावी गरे ।
    अमेरिका, बेलायतलगायतका देश नेपाललाई खोप दिन सकारात्मक रहेको भन्दै उनले भने ‘हामी सन् २०२१ को अन्तिमसम्ममा लक्षित समूहलाई खोप दिने लक्ष्यअनुसार विभिन्न देशमा पहल गरिरहेका छौं ।’
    खोपको लागि नेपाल अनुदानमा मात्रै भर नपरी खरिद गर्न लागि परेको समेत मन्त्री ज्ञवालीले प्रष्ट्याए । त्यसको लागि अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको छ । चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोप जुन महिनाको २ तारेखमा आउने मन्त्री ज्ञवालीले जानकारी दिए ।
    नेपलमा कोभिसिल्ड खोप लगाएका करिब १५ लाख नागरिक दोस्रो डोज खोपको प्रतीक्षामा छन् । उनीहरुको लागि एस्ट्राजेनेकाको खोप ल्याउन पहल गरिरहेको मन्त्री ज्ञवालीले बताए । एस्ट्राजेनेकाको खोप भारतबाहेक बेलायत, नेदरल्याण्ड दक्षिण कोरिया जस्ता देशमा उत्पादन भएकाले त्यताबाट खोप ल्याउन पहल भइरहेको उनको भनाइ छ ।
    फर्मुला, कम्पनी र एस्ट्राजेनेकाको उत्पादन भएकाले कोभिसिल्डको विकल्पमा अन्य देशमा उत्पादन भएको खोप लगाउन मिल्ने स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको निर्देशक डा. तारानाथ पोखरेल बताउँछन् ।
    उनका अनुसार उत्पादन गर्ने देश फरक भए पनि एस्ट्रेजेनिकाकै खोप लगाउन मिल्ने विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । ‘फरक फर्मुला र फरक कम्पनीको खोप मिसाउन मिल्दैन तर एस्ट्रेजेनिकाको खोप नै भएकाले फरक देशमा उत्पादन भएपनि पनि लगायन मिल्छ ‘ डा. पोखरेलले भने ।

    Leave a Reply