
गैर आवासीय नेपाली संघ साउदी अरबले नेपाली दूतावास रियादका राजदूत प्रा.डा. महेन्द्र सिंह राजपूतलाई कार्यकाल पुरा गरी स्वदेश फर्किने क्रममा एक कार्यक्रम गरी विदाई गरेको छ। यही २०७८ जेष्ठ १९ मा राजदूत सिंहले आफ्नो ४ वर्षे कार्यकाल पुरा गरी नेपाल फिर्ता हुनुहुँदैछ ।
कोभिड १९ महामारीको प्रकोपलाई मध्यनजर गरी गैर आवासीय नेपाली संघ साउदी अरबले दूतावास प्रांगण रियादमा बिदाई समारोह कार्यक्रम गरी राजदूत सिंहलाई बिदाई गरेको हो। कार्यक्रममा जेद्धा महावाणिज्य दूतावासका का.बा. महावाणिज्यदूतको विशेष उपस्थिति सहित दूतावास परिवार रियाद, गैर आवासीय नेपाली संघको विभिन्न तह र समितिमा आवद्ध पदाधिकारीहरूको अलावा जनसंपर्क समिति साउदी अरबका पूर्व अध्यक्ष, जनप्रगतिशिल राष्ट्रीय समिति साउदीका अध्यक्ष लगायत अन्य नेपाली जनसमुदायको समुपस्थितिमा बिदाई कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त बिदाई कार्यक्रममा एनआरएनए आईसीसी सदस्य नारायण पासवान, जनप्रगतिशिल राष्ट्रीय समिति साउदीका अध्यक्ष शिवराज जैशी, जनसंपर्क समिति साउदी अरबका पूर्व अध्यक्ष दिपक रेग्मीले बिदाई शुभकामना मन्तव्य राख्नु भएको थियो भने दूतावास परिवार रियादको तर्फबाट श्रमसहचारी जिवन राई तथा महावाणिज्य दूतावास जेद्धाको तर्फ बाट शत्रुघन पोख्रेलले शुभकामना मन्तव्य राख्नुभएको थियो। त्यसै गरी एनआरएनए आईसीसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल तथा एनसिसी साउदीका संस्थापक सदस्य एवम् संरक्षक राजु सैयदले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो।
बिदाई कार्यक्रममा बोल्दै आफ्नो ४ वर्षे कार्यकाल पुरा गरी नेपाल फर्कने तयारीमा रहनु भएका महामहिम राजदूतले अवधिमा आफू राजदूतको रूपमा साउदी अरब आए पश्चात यहाँ रहेका नेपाली श्रमिक तथा नेपाली समुदाय र सामाजिक संघ संस्थाहरू संग सहयात्रा गरी संगालेको अनुभवहरू तथा अविस्मरणीय क्षणहरू कोट्याउनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा महामहिम राजदूतलाई दोसल्ला ओडाई गैर आवासीय नेपाली संघ साउदीको तर्फ बाट मायाको चिनो र प्रसंशा पत्र हस्तान्तरण गरिएको थियो भने बिदाई कार्यक्रमका सभाध्यक्ष एवम् गैर आवासीय नेपाली संघ साउदीका अध्यक्ष तेज थापाले संघको सबै तह र समिति लगायत साउदी अरबमा रहेका आप्रवासी नेपाली कामदारहरूको तर्फ बाट बिदाई शुभकामना मन्तव्य राख्दै कार्यक्रम समापन गर्नु भएको थियो। कार्यक्रम एनसिसी साउदीका उपाध्यक्ष विशाल श्रेष्ठले संचालन गर्नु भएको थियो ।


